English

सन्दर्भः विश्व पक्षघात दिवस

विश्वमा वर्षेनी १ करोड ३० लाखलाई पक्षघात

‘मिनेट्स क्यान सेफ लाइफ’ नाराका साथ मनाइयो विश्व पक्षघात दिवस


नेपालमा विश्व पक्षघात दिवस मनाइएको छ । ग्राण्डी इन्टरनेशनल अस्पताल, नेशनल न्युरो सेन्टर र नेपाल स्ट्रोक एशोसिएसनको संयुक्त आयोजनामा ‘मिनेट्स क्यान सेफ लाइफ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । ग्राण्डी अस्पतालमा भएको कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. नोनिका गोयलले पक्षघातबारे सर्वसाधारणमा लक्षण सहितको जानकारी गराएर चेतना फैलाउन आवश्यक रहेको बताइन् । ‘आमनागरिकलाई स्ट्रोकको बारे अझै पनि पूर्ण जानकार छैनन्,’ उनले भनिन्, ‘यसका बारे सचेतना फैलाउन जरुरी छ ।’

यसैगरी, नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा बर्षेनी १ करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताए । ‘पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ,’ उनले भने, ‘यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ ।’ विश्वमा हरेक ४ जनामा १ जनालाई र ६ सेकेण्डमा १ जनालाई पक्षघातको सम्भावना रहेको डा. पौडेलको भनाई थियो । उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे ।

नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान, निस्क्रिय जीवनपद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन आग्रह गरे । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा. पौडेलको भनाई थियो । स्ट्रोकको बारेमा एकदिने कार्यक्रममात्र नभएर यसबारे सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने स्पाइनल सर्जन डा.विनोद बिजुक्छेले जोड दिए । ‘स्ट्रोक के हो, लक्षण के हुन्, कसरी बच्न सकिन्छ, यस्ता जानकारी मेडिकल भाषामा भन्दा पनि सर्वसाधारणले बुझ्ने भाषामा सचेतना फैलाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा न्युरो सर्जन डा. रुपेन्द्रबहादुर अधिकारी, न्युरो रेडियोलोजिष्ट डा. पारस थापा, डा. कमल थापा, डा. कृष्ण पौडेल, डा. सुशिल खनाल, डा. नीमा शेर्पा लगायतले स्ट्रोकबारे प्रस्तुति दिएका थिए । दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, संघका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागिता थियो । साथै, पक्षघातसम्बन्धि जानकारी लिन सकिने ‘स्ट्रोक रिस्कोमिटर’ एप र चेतनामूलक गीत सार्वजनिक गरिएको थियो । उक्त गीत गायिका सुनिता दुलाल र गायक खेम सेन्चुरीले गाएका हुन् ।

तस्बिरहरु : अशोक गुरुङ



सम्बन्धित खबरहरु

नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै

जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि

भाद्र २९, नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested