बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या



मृत्युपछि अरुलाई अङ्गदान गर्न पाउनुमा शताब्दी पुरुष सत्यमोहन जोशी पुण्य ठान्छन् । एकातिर पुण्य र अर्कोतिर चिकित्सा विज्ञानका विद्यार्थीका लागि आफ्नो शरीर अनुसन्धानको विषय हुन सक्ने जोशी बताउँछन् । ‘खरानी हुने शरीरको अङ्ग अरुलाई मिल्छ भने प्रत्यारोपण गरेर पुनर्जीवन पाऊन्,’ जोशी भन्छन्, ‘अहिलेसम्म मेरो शरीरमा कुनै रोग छैन । निरोगी भएर यतिको उमेरसम्म बाँच्नुको रहस्य के रहेछ भनेर चिकित्सा विज्ञानका विद्यार्थीले अनुसन्धान गरुन् भन्ने इच्छाले अङ्गदान गर्ने घोषणा गरेको हुँ ।’

शताब्दी पुरुष जोशीले गत माघ ३० गते किष्ट अस्पताललाई ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गडमा मरणोपरान्त अङ्गदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए । जोशीसँगै यतिबेला मरणोपरान्त अङ्गदान गर्नेहरूको संख्या बढ्दो छ ।

शताब्दी पुरुष जोशीले गत माघ ३० गते किष्ट अस्पताललाई ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गडमा मरणोपरान्त अङ्गदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए । जोशीसँगै यतिबेला मरणोपरान्त अङ्गदान गर्नेहरूको संख्या बढ्दो छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार ६ सय ८८ जनाले मृत्युपछि अङ्गदानका लागि मञ्जुरीनामा गरेको केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवाली बताउँछन् । तर, नेपालमा अङ्गदानका बारेमा व्याप्त भ्रम र प्राविधिक कठिनाई रहेको उनको भनाई छ । ‘अङ्गदानका बारेमा विभिन्न भ्रम चिर्नै कठिन भइरहेको छ,’ उनी भन्छन्, ‘नेपालमा अंगदान घोषणा गर्नेहरूको संख्या बढेतापनि त्यसका लागि उपयुक्त नियमावली र कार्यविधि अझै टुंगो लागिसकेको छैन ।’

आँखा दानका लागि तिलगङ्गा आँखा अस्पतालमा १ लाख ३ हजारभन्दा बढीले इच्छापत्र भरेका छन् । यस्तै, मृत्युपछि पनि १० हजार ३ सय ३४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

नेपालमा मृत्युपछि आँखा, मिर्गौला, आन्द्रा, प्याङ्क्रियाज, मुटु, कलेजो, फोक्सो, छाला लगायतका अङ्गदान गर्न सकिन्छ । यसमध्ये आँखा र छालाको भने मरणोपरान्त नियमित प्रत्यारोपण भइरहेका छन् । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार हालसम्म २९ जना मानिसको मरणोपरान्त छाला प्रत्यारोपण गरिएको छ । ‘अहिलेसम्म २९ जना मानिसको छाला निकालेर ट्रान्सप्लान्ट गरिसकिएको छ,’ उनी भन्छन्, ‘तर, यो संख्या एकदमै कम हो ।’

यस्तै, अन्य अंगको तुलनामा आँखाको भने धेरै नै प्रत्यारोपण भइसकेको छ । तिलगङ्गा आँखा अस्पतालका आँखा बैंक प्रबन्धक शंकरनारायण त्वयनका अनुसार हालसम्म आँखा दानका लागि तिलगङ्गा आँखा अस्पतालमा १ लाख ३ हजारभन्दा बढीले इच्छापत्र भरेका छन् । यस्तै, मृत्युपछि पनि १० हजार ३ सय ३४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

एकजना व्यक्तिले अङ्गदान गर्दा ८ जनासम्म मानिसले पुनर्जीवन पाउने अङ्ग प्रत्यारोपण समन्वय समितिका संयोजक डा. ईश्वर लोहनी बताउँछन् ।

आँखा र छालाबाहेकका अन्य अङ्गको प्रत्यारोपणका लागि निकै समस्या परिरहेको चिकित्सकहरू बताउँछन् । अझै मस्तिष्क मृत्यु अर्थात ‘ब्रेन डेथ’ भएकाबाट प्रत्यारोपणका लागि अङ्ग पाउने आशमा पर्खिनेहरूको संख्या ठूलो छ । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्रै ५ सय ८४ जना अङ्ग पाउने आशमा कुरेर बसिरहेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवाली बताउँछन् । ‘हामीकहाँ विशेष गरी मिर्गौला प्रत्यारोपणका लागि नाम दर्ता गराउनेको संख्या ठूलो छ,’ उनी भन्छन्, ‘कलेजो प्रत्यारोपणका लागि पर्खनेहरूको संख्या पनि धेरै छ ।’

अंग प्रत्यारोपण आवश्यक रहेका मानिसको संख्या ठूलो छ तर सो अनुसारको अङ्गदान भने हुन सकेको छैन । एकजना व्यक्तिले अङ्गदान गर्दा ८ जनासम्म मानिसले पुनर्जीवन पाउने अङ्ग प्रत्यारोपण समन्वय समितिका संयोजक डा. ईश्वर लोहनी बताउँछन् । ‘हामी कहाँ अङ्गदान गर्ने मानिसहरूको संख्या कम छ । तर, कार्यविधि नबन्दा पनि समस्या परिरहेको छ,’ उनी भन्छन्, ‘विशेषगरी ब्रेन डेथ ट्रान्सप्लान्टका लागि कार्यविधि नबन्दा समस्या छ ।’

के हो ‘ब्रेन डेथ’ ट्रान्सप्लान्ट ?

नेपालमा हरेक दिन थुप्रै मानिसको ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु हुने गर्छ । ब्रेन डेथ भनेको त्यस्तो अवस्था हो, जुनबेला मानिसको मस्तिष्क पूर्ण रूपमा मृत भइसकेको हुन्छ । तर, मुटु धड्किरहेको हुन्छ । त्यसैले मेडिकल भाषामा यसलाई हार्ट बिटिङ डेथ भनिने डा. ज्ञवाली बताउँछन् । मिर्गाैला, फोक्सो, मुटु, कलेजो लगायतका अङ्ग दान गर्दा मुटु चलिरहेको हुनुपर्छ । ‘कुनैपनि मानिसको ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भयो भने उसको शरीरबाट अङ्ग निकाल्न मुटु चलिरहेको हुनुपर्छ र सबै अंगमा रक्तसञ्चार भैरहेको हुनुपर्छ,’ डा. ज्ञवाली भन्छन्,‘यदि मुटु बन्द भयो र रक्तसञ्चार रोकिएको अवस्थामा ३० मिनेटभित्र अङ्ग निकालेर त्यसलाई सफा गरेर ‘आइस’मा राखिसक्नुपर्छ ।’

आइसीयूमा ब्रेन डेथका मानिसको मात्र अङ्ग निकाल्न सहज हुने डा. ज्ञवाली बताउँछन् । ‘आइसीयूमा ब्रेन डेथ भएका मानिसको मात्र अङ्ग प्रत्यारोपण गर्न सहज हुन्छ,’ उनले भने, ‘यदि आइसीयूमा कुनै बिरामीको ब्रेन डेथ भयो र उसका आफन्तहरूले अङ्गदानका लागि मञ्जुरीनामा दिएका छन् भने त्यो बिरामीेको अङ्ग निकाल्ने बेलासम्म ब्लड प्रेसर पनि सन्तुलनमा हुनुपर्छ ।’ नेपालमा मासिक दर्जनौं मानिसको ब्रेन डेथ हुन्छ । तर, हालसम्म ब्रेन डेथ भएका ३ जना डोनरबाट ६ वटा मिर्गौला र एक जनाको कलेजो ट्रान्सप्लान्ट मात्र गरिएको केन्द्रले जनाएको छ ।

के हो अङ्गदान, कसरी गर्ने ?

नेपालमा १८ वर्षभन्दा माथिका बालिगले अङ्गदान गर्न पाउने मानव अङ्ग प्रत्यारोपण ऐन (नियमित तथा निषेध)–२०५५ मा व्यवस्था छ । अङ्गदान दुई प्रकृतिको हुन्छ । एउटा जीवित मान्छेले गर्ने अङ्गदान, अर्को मत्यु भइसकेपछि गरिने अङ्गदान । जीवित अवस्थामा कुनैपनि मानिसले कसैको ज्यान बचाउनका लागि एउटा मिर्गौला, कलेजोको केही भाग, फोक्सोको केही भाग र छालाको केही भाग दान दिन सक्छन् । यसमा अङ्गदान गर्ने व्यक्ति बिरामीको परिवारको सदस्य अथवा नातेदार हुनुपर्छ । यस्तै, ब्रेन डेथ अर्थात मस्तिष्क मृत्युपछि मुटु, फोक्सो, मिर्गौला, आन्द्रा, प्याङक्रियाज लगायतका अङ्ग दान गर्न सक्ने डा. ज्ञवाली बताउँछन् ।

नेपालमा ब्रेन डेथ प्रत्यारोपण नगण्य भएतापनि जीवित मान्छेले दान गरेको अङ्ग भने थुप्रै प्रत्यारोपण भइसकेका छन् । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हालसम्म ७ सय १० जना मिर्गौला, ३ जनाको कलेजो प्रत्यारोपण भएको उनले जानकारी दिए । जसमध्ये ६ जनाको ब्रेन डेथ भएका मानिसबाट निकालिएको मिर्गौला प्रत्यारोपण गरिएको छ । यस्तै एक जनाको ब्रेन डेथपछि दान गरिएको कलेजो प्रत्यारोपण भएको छ ।
अंगदान गर्न चाहने व्यक्तिले जीवित छँदै अङ्ग दानका लागि अङ्ग प्रत्यारोपण समन्वय समितिले अनुमति दिएका अस्पतालमा गएर मञ्जुरीनामा दिन सकिन्छ । त्यसमा उनीहरूले कुन अङ्ग दान गर्न चाहेको हौँ त्यो पनि खुलाउन सक्छन् । ती व्यक्तिको मृत्यु भइसकेपछि चिकित्सक वा अस्पतालले परिवारका सदस्यहरूसँग अनुमति लिएर अङ्ग निकाल्छन् र उक्त अंग प्राथमिकताका आधारमा अन्य व्यक्तिमा प्रत्यारोपण गरिन्छ । जसमा आँखा दानका लागि भने तिलगंगा आँखा अस्पतालमा गएर मञ्जुरीनामा फारम भर्न सकिन्छ ।

यी अस्पतालले पाएका छन् अङ्ग प्रत्यारोपण अनुमति

नेपालमा ८ वटा अस्पतालले अङ्ग प्रत्यारोपण अनुमति पाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीर अस्पताल, ग्राण्डी अस्पताल, सुमेरु अस्पताल, निदान अस्पताल, किष्ट अस्पताल, पुरानो मेडिकल कलेज चितवन लगायतका अस्पताललाई अनुमति दिइएको अङ्ग प्रत्यारोपण समन्वय समितिका संयोजक डा. लोहनीले बताए । अङ्गदान गर्न चाहने व्यक्तिले पायक पर्ने अस्पतालमा गएर अंगदानको मञ्जुरीनामा फारम भर्नुपर्ने हुन्छ ।

अङ्गदानमा आफन्त नै बाधक

कुनै मानिसले जिउँदो छँदै अङ्गदान गर्ने मञ्जुरीनामा दिएको भएतापनि मृतकका आफन्तले अङ्ग झिक्न नदिँदा समस्या आइरहेको डा. लोहनी बताउँछन् । ‘अङ्गदान गरेको मानिसको ब्रेन डेथ भइसकेपछि अङ्ग झिक्नका लागि परिवारसँग मञ्जुरीनामा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा परिवारका सदस्यले मन्जुरीनामा दिंदैनन्,’ उनी भन्छन्, ‘परिवारले मञ्जुरीनामा नदिँदा हामीले जबर्जस्ती अङ्ग निकाल्न मिल्दैन ।’

यस्तै, कतिपय आफन्तहरूले धार्मिक मान्यताले गर्दा समेत अङ्ग झिक्न नदिने गरेको प्लास्टिक सर्जन डा. शंकरमान राई बताउँछन् । ‘विशेषगरी हिन्दू संस्कृतिमा शरीरका सबै अङ्ग भयो भने मात्र स्वर्ग पुगिन्छ भन्ने विश्वास छ,’ उनी भन्छन्, ‘त्यही विश्वासले गर्दा नै आफन्तहरूले अङ्ग निकाल्न दिँदैनन् । यस्तो अवस्थामा जीवितै छँदा अङ्गदानका लागि मञ्जुरीनामा दिएपनि त्यसले काम गर्दैन ।’

कुन अङ्ग प्रत्यारोपण गर्न कति खर्च लाग्छ ?

हाल नेपाल सरकारले अङ्ग निःशुल्क प्रदान गरेतापनि त्यसको प्रत्यारोपण गर्न भने शुल्क लाग्छ । मिर्गौला प्रत्यारोपण गर्न २ देखि ३ लाख रुपैयाँ खर्च हुने डा. ज्ञवाली बताउँछन् । यस्तै, आँखा प्रत्यारोपण निःशुल्क हुन्छ । तर, यसमा पनि प्रत्यारोपण बाहेक अन्य खर्च लाग्छ । छालाको प्रत्यारोपणका लागि पनि अप्रेशनको शुल्क लाग्छ ।

नेपालमा कलेजो प्रत्यारोपण भने असाध्यै महंगो छ । कलेजो प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरू बताउँछन् । भारतमा योे भन्दा अझ महंगो छ । ‘उता गएर कलेजो प्रत्यारोपण गर्दा १ करोड रुपैयाँसम्म खर्च हुन्छ’–एक चिकित्सक जानकारी दिन्छन् । नेपालमा हालसम्म छाला, आँखा, मिर्गौला, कलेजो लगायतका अंग प्रत्यारोपण भइरहेका छन् । तर, मुटु, फोक्सो, प्याङक्रियाज, सानो आन्द्रा लगायतका अङ्गको प्रत्यारोपण भने नेपालमा हुँदैन ।

कुन अङ्ग कति समयसम्म सुरक्षित

ब्रेन डेथ पछि भएको अंगदान जति सक्दो छिटो प्रत्यारोपण गर्नुपर्छ । यसलाई लामो समय आइसमा राख्न सकिँदैन । त्यसमध्ये पनि मिर्गौलालाई भने २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । यस्तै, छाला मानिसको मृत्यु भएको ६ घण्टाभित्र निकाली सक्नुपर्ने प्लास्टिक सर्जन डा. राई बताउँछन् । ‘मृत्युपछि कसैले छाला दान गर्दैछ भने मृत्यु भएको ६ घण्टाभित्र निकाली सक्नुर्छ,’ उनले भने, ‘त्यो छालालाई हामीले ५ वर्षसम्म सुरक्षित तरिकाले राख्न सक्छौं । तर नेपालमा छाला प्रत्यारोपण गर्ने मानिसहरूको चाप रहेकाले लामो समय रहँदैन ।’ यस्तै, आँखाको नानी मानिसको मृत्यु भएको १२ घण्टाभित्र निकाली सक्नुपर्छ । त्यसलाई १४ दिनसम्म सुरक्षित राख्न सकिने आँखा बैंकका प्रबन्धक त्वयना बताउँछन् ।

चर्चित व्यक्ति को–कसले गरे अङ्गदान

पछिल्लो समय उच्च ओहोदामा रहेको व्यक्तिहरूले समेत अङ्गदान गर्न थालेका छन् । सत्यमोहन जोशी, गगन थापा, प्रदीप ज्ञवाली, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र महतो, सुरेन्द्र यादव, उपेन्द्र यादव, योगेश्वर अमात्य, आनी छोइङ डोल्मा लगायतले अङ्गदान गरेका छन् ।

अङ्गदान वा शरीरदान गर्ने कतिपयले गोप्य पनि राख्ने गरेका छन् । त्यसैगरी कसको अङ्ग कसलाई प्रत्यारोपण गरियो भन्ने पनि अस्पतालले अत्यन्तै गोप्य राखिदिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘नपाएको कुरा कसरी पाएँ भनौं र हजुर ! ८ दिन भइसक्यो एक बोरा चामल, १ पोको नुन-तेल सम्म पाएको छैन

२०७२ को महाभूकम्पपछि उठ्दै गरेको मेलम्ची पुन थला परेको छ । असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले

राइज मिडिया नेटवर्कले मेलम्ची बाढी पीडितलाई सहयोग गरेको छ । बाढीले सर्वस्व गुमाएहरुलाई नेटवर्कले मंगलबार भान्साका लागि आवश्यक प्रेसर कुकर,

निकिशा बस्नेत, योग शिक्षक भागदौडको जीन्दगीमा यदि दिनभरमा १५ मिनेट मात्र योगलाई समय दियौ भने यसबाट अनगिन्ती लाभ लिन सकिन्छ