English

तीजमा भिडभाड हुने नेपालका चर्चित शिवालय



हरितालिका तीज नेपालको महिलाहरुको विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पतिको लामो आयु एवं सौभाग्य वृद्धिको लागि माता गौरी एवं भगवान भोलेनाथको पूजा आराधना गरिन्छ । त्यसैले यसदिन नेपालको शिवालयहरुमा महिलाहरुको भीड लाग्ने गर्छ । तीजको दिन भगवान् शिव र माता गौरीको पूजा आराधना गर्नको लागि जान सकिने नेपालका केही चर्चित शिवालयहरु यी हुन् ः

पशुपतिनाथ

पशुपतिनाथ हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक गन्तव्य हो । काठमाडौँ बागमती किनारमा अवस्थित मन्दिर विश्वकै ठूलो शिव मन्दिरमा पनि मानिन्छ । तीजको दिन यहाँ विशेष महिला भक्तजन पुग्ने गर्छन् । अझै तीजको दिन त यहाँ महिलाहरुको ठूलै भीड लाग्छ । यद्यपि, कोरोना महामारीका कारण यसवर्ष भने पशुपतिनाथ मन्दिर परिसर बन्द छ ।

डोलेश्वर महादेव

भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिर तीजको दिन पूजाआजा गर्नको लागि अर्को प्रमुख गन्तव्य हो । भक्तपुरको जगातीबाट दक्षिणतर्फ लागेर उक्त मन्दिर पुग्न सकिन्छ । विज्ञ तथा धार्मिक जानकारका अनुसार यसलाई भारतको उत्तराखण्डमा रहेको केदारनाथको शिरको रूपमा मानिन्छ । हिन्दूका लागि पवित्र स्थान मानिने यस मन्दिरमा पनि तीजमा महिला भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।

सन्तानेश्वर महादेव

ललितपुरको झरुवारासीमा सन्तानेश्वर महादेव मन्दिर छ । सानो पहाडको थुम्कोमा अवस्थित मन्दिर पनि तीजको पूजाको लागि राम्रो गन्तव्य हो । महादेवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा यस स्थानमा वक्षस्थल पतन भएको किंवदन्ती छ । सोही स्थानमा सन्तानेश्वर महादेव मन्दिर स्थापना गरिएको बताइन्छ । सन्तान नभएका दम्पतीले उक्त मन्दिरमा पूजा गर्दा सन्तान प्राप्त हुने विश्वास पनि गरिन्छ ।

गुप्तेश्वर महादेव

पोखराको पातलेछाँगोसँगै रहेको गुप्तेश्वर महादेव मन्दिर पनि तिजको दिन पूजाको लागि जान सकिन्छ । यस यहाँ दिन हिन्दु महिलाहरुको घुइँचो लाग्छ । जमिनभन्दा तल गुफामा लुकेर रहेकाले नै यहाँ रहेको महादेवलाई गुप्तेश्वर महादेव भनिएको किंवदन्ती छ । यो ठाउँ पोखरा–स्याङ्जा राजमार्गमा पातलेछाँगोको दक्षिणतर्फ पर्छ ।

गलेश्वर महादेव

म्याग्दीको गलेश्वरमा रहेको गलेश्वर महादेवको मन्दिरमा पनि तीजको दिन बढी भक्तजन पुग्ने गन्तव्यमा पर्छ । मन्दिर म्याग्दीको बेनीबाट करिब तीन किलोमिटर पर कालीगण्डकी नदी तटमा अवस्थित छ । उक्त स्थानमा सतीदेवीको घाँटी पतन भएको विश्वास गरिन्छ ।

धनेश्वर महादेव
काभ्रेको बनेपाबाट करिब १ किलोमिटर दक्षिणतर्फ उचाइमा रहेको धनेश्वर महादेव मन्दिरमा तीजको दिन ठूलो भीड लाग्छ । नामअनुसार नै धनेश्वर महादेवको दर्शन गरेर पूजाआजा गर्दा धनसम्पत्ति बढ्ने विश्वास गरिन्छ ।

गोकर्णेश्वर महादेव

शिवभक्तका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णेश्वर महादेव मन्दिर अर्को महत्वपूर्ण गन्तव्य हो । गोकर्णेश्वरको बागमती किनारमा यो मन्दिर अवस्थित छ । तीजको दिन वर्तालु महिलाहरुको यहाँ ठूलो घुइँचो लाग्छ ।

भीमेश्वर

दोलखाको चरिकोटबाट करिब पाँच किलोमिटर टाढा रहेको भीमेश्वर महादेव मन्दिरमा पनि तीजको दिन विशेष घुइँचो लाग्छ । एउटै मूर्तिलाई शिव, विष्णु र भीमसेनका रूपमा पुज्नु यस मन्दिरको विशेषता हो ।

किरातेश्वर महादेव

पशुपति क्षेत्रमै तीजको दिन विशेष महत्व राख्ने किराँतेश्वर महादेवको मन्दिर छ । गौरीघाटबाट केही माथि मृगस्थली वनमा अवस्थित मन्दिरमा भिड लाग्ने गर्छ । महादेवले किराँत रूप धारण गरी लुकेर बसेकाले पार्वतीले शिवलिंग बनाएर यस स्थानमा महादेवको पूजा–अर्चना गरेको विश्वास गरिन्छ ।

कैलाश महादेव

विश्वकै अग्लो शिवमूर्ति दाबी गरिएको कैलाशनाथ महादेवको मूर्ति भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगामा अवस्थित छ । यसलाई विश्वकै चौधौँ अग्लो मूर्तिसमेत दाबी गरिन्छ । दर्शनको लागि कैलाश माहादेवको मन्दिर पनि जान सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती