English

सम्झनामा विपी कोइराला



नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । विपीको ३९ औं स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आयोजित अन्तरसंवादका सहभागी वक्ताले निरंकुश राणा शासनविरुद्ध मोर्चा खडा गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उनले पुर्याएको योगदान र प्राप्त उपलब्धिको समीक्षा गरे ।

सो अवसरमा परराष्ट्र मामिलाका जानकार प्राध्यापक जयराज आचार्यले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको संघर्षमा विपीले आजीवन योगदान गरेको स्मरण गरे । विपीको अन्तिम चार वर्षमा भएका भेटघाट र छलफल प्रजातन्त्र, राजनीति र साहित्य क्षेत्रका विषयमा कुरा गरेका प्राध्यापक आचार्यले नेपालका आदर्श र जीवनलाई प्रभावित तुल्याउने व्यक्तिका रुपमा विपी र प्राध्यापक यदुनाथ खनाललाई लिने गरेको बताए ।

प्राध्यापक आचार्य भन्छन्, ‘विपीबाट २००७ सालको आन्दोलनको नेतृत्व भए तापनि १७ साल नेपालको इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रमुख सिकार विपी र लोकतान्त्रिक प्रणाली भयो । त्यसपछि उहाँकै नेतृत्वमा ३० वर्ष संघर्ष भयो, २०४६ सालको जनआन्दोलनमा विपी जीवित नभए पनि त्यसको पछाडि उहाँकै प्रेरणा थियो ।’

विपी कोइराला प्रधानमन्त्री र पार्टी सभापतिमात्र होइन, एउटा प्रजातान्त्रिक संघर्षको आदर्श प्रतीकका रुपमा जीवित रहेका छन् । विसं २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाइ मतका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीलाई राजा महेन्द्रले २०१७ सालमा अपधस्त गरी जेल पठाएका थिए । मुलुकमा त्योे घटनालाई २०१७ सालको ‘कू’ को सङ्ज्ञा दिने गरिन्छ ।

विसं २००७ को क्रान्तिको उपलब्धि स्थापित गर्न २०१५ सालको आम निर्वाचनसम्मको अवधिमा विपीले ठूलो संघर्ष गर्नुपरेको थियो । विपीकै समग्र योजनाअनुरुप राजारजौटा उन्मूलन, गुठी जग्गा रैकर, विर्ता प्रथा उन्मूलन, मोहियानी हक लागू, त्रिभुवन विश्वविद्यालय स्थापनालगायत नेपाली समाजमा आमूल परिवर्तन गर्ने दूरगामी कार्यक्रम अघि बढी रहेकै बेला १७ सालको घटना भयो ।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वासनमा बसेर नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि सक्रिय विपी २०३३ सालमा राष्ट्रिय मेलमिलापनको नीति लिएर स्वदेश फर्केका थिए । उनलाई क्यान्सर भएपछि तत्कालीन पञ्चायत सरकारले २०३५ सालमा उपचारका लागि विदेश जाने अनुमति दियो ।

त्यसपछि विकसित राजनीतिक घटनालाई विश्लेषण गर्दै बहुदल वा सुधारसहितको पञ्चायती व्यवस्था रोज्न दिन जनमत संग्रह घोषणा गरे तापनि पञ्चायतलाई टिकाउन जालझेल गरी निर्वाचनको परिणाम त्यसतर्फ भएको नतिजा सार्वजनिक गरियो । यो घटनालाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ ।

नेपालका समकालीन राजनीतिबीचमा अध्ययनशील, साहित्यकार, अनुभवी, प्रजातन्त्रप्रति प्रतिबद्ध विपीलाई अहिले राजनीतिमा देखिएको विश्वासको खडेरीले उनलाई झल्झली सम्झना गरेको छ । सडक, सञ्चार, शिक्षा नभएको तथा गरिबी र अन्धकारको चरम अवस्थामा पनि सबै जनतालाई निर्वाचनमा भाग लिने सुनिश्चिताले विपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धलाई स्पष्ट गरेका कूटनीतिज्ञ आचार्य बताउँछन् ।

उनले नेपाली भाषाका प्रभावशाली साहित्यकार पनि स्थान प्राप्त गरेका छन् । २०१७ सालको काण्डपछि विपीले ८ वर्ष जेलजीवन बिताए । उनले अधिकांश उपन्यास त्यही समयमा लेखे । राजा महेन्द्र जहाँ पुग्दा पनि पत्रकारले त्यस समयमा सोध्ने एउटै प्रश्न थियो, विपी कहिले जेलबाट छुट्नुहुन्छ ? महेन्द्रलाई विपी बिर्साउन सम्भव थिएन । विपी जेलमा होस् वा बाहिर जहाँ रहे पनि प्रजातन्त्रका लागि विपीको संभर्षको गाथा सबैले नजिकबाट नियालिरहेका थिए । यसअघि अंग्रेज विरुद्धको भारत छोड आन्दोलनमा अग्रमोर्चामा रही योगदान पु¥याएका बिपीमा लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य प्रमुख एजेन्डा थियो ।

विसं १९७१ भदौ २४ मा जन्मिएका विपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । उनको निधनप्रति शोक व्यक्त गर्न आँकलन गरिएभन्दा निकै धेरै नागरिक पशुपति पुगेका थिए । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी भन्छन्, ‘विपीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेको भीड पशुपतिदेखि पुतलीसडकसम्म रहेको र त्यसअघि यति ठूलो मानिसको सहभागिता कहिल्यै देखेको थिइनँ ।’

फाउन्डेशनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा विपीको योगदान युगौँयुगसम्म ताजा रही रहने प्रतिक्रिया दिए । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका उप–प्राध्यापक जगत नेपालले मुलुकको प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन र विपी एकअर्काको पर्याय रहेको धारणा व्यक्त गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र