English

‘तारा थापाले ३५ सयमा नगाएको भए आज नायकले ५० लाख लिन्छु भन्ने दिन आउँदैनथ्यो’

नेपाली चलचित्रका गीत नेपालमै रेकर्ड गराउँदाको सकस


यतिबेला राजधानी काठमाडौँका रेकर्डिङ स्टुडियोहरू धमाधम तीज गीत रेकर्ड गर्नमा व्यस्त छन् । त्यसो त, तीज आउन अझै करिब डेढ महिना बाँकी नै छ । कति गीतहरू त रिलिज पनि भई सके । पछिल्लो समय काठमाडौँ लगायतका विभिन्न सहरमा रेकर्डिङ स्टुडियो छ्यापछ्याप्ती भेटिन्छन् । तर, चार दशक पहिलेको कथा बेग्लै थियो । यसैबीच गत सोमबार जमलस्थित विश्ज्योति हलमा गायिका सुनिता दुलालको तिज गीत ‘पियारी’ विमोचनमा कलाकार तथा निर्देशक निर शाहले चार दशक पहिलेको अवस्थालाई पुनः स्मरण गरे ।

नेपालमा नेपाली चलचित्रको सम्पूर्ण गीत रेकर्डिङको सुरुवात बि.सं. २०३९ सालबाट गरिएको हो । त्यसअघि नेपाली चलचित्रको गीत रेकर्ड गर्न भारतको मुम्बई जानु पर्थ्यो । एउटा चलचित्रको गीत रेकर्ड गर्न मात्रै कम्तीमा तीन देखि चार लाख रुपैयाँ अर्थात् त्यतिबेला चलचित्रको १० प्रतिशत बजेट खर्च हुन्थ्यो । तर आफूले पहिलोपटक नेपालमै सबै गीत तयार गर्दा करिब एक लाख रुपैयाँ खर्च भएको सम्झना कलाकार तथा निर्देशक शाहसँग छ । नेपाली चलचित्रको गीत रेकर्ड नेपालमै गर्न सकिन्छ भनेर नेपालबाटै गीत रेकर्ड गर्नुको सम्पूर्ण श्रेय उनलाई नै जान्छ ।

त्यति बेलाका निर्माताहरू यहाँबाट गायक गायिकाहरू लैजाँदा महँगो हुन्छ भन्ठान्थे होला, उतैका गीत गाउनेहरूलाई गाउनका लागि प्रयोग गरिन्थ्यो । उतैका वाद्यवादकहरू प्रयोग हुन्थे, सम्पूर्ण कुराहरू उतैबाट परिपूर्ति हुन्थे ।

‘त्यति बेलाका निर्माताहरू यहाँबाट गायक गायिकाहरू लैजाँदा महँगो हुन्छ भन्ठान्थे होला, उतैका गीत गाउनेहरूलाई गाउनका लागि प्रयोग गरिन्थ्यो । उतैका वाद्यवादकहरू प्रयोग हुन्थे, सम्पूर्ण कुराहरू उतैबाट परिपूर्ति हुन्थे ।’ शाहले पुराना दिन सम्झे, ‘मेरो नैतिकताले यसलाई गलत देख्यो । यस्तो अवस्थाको परिवर्तन हुनु भनेको राष्ट्रिय चलचित्र उद्योगको प्रगति हो भन्ने म ठान्दथे ।’

त्यतिबेला शाही नेपाली चलचित्र संस्थानको महाप्रबन्धकमा नीर शाह थिए । संस्थानबाट बन्ने एउटा नेपाली चलचित्रको गीत मुम्बई गएर रेकर्ड गराउँदा त्यहाँका कर्मचारीले महिना दिनसम्म दैनिक भत्ता लिएर मुम्बई बस्थे । शाहकै भाषामा भन्नु पर्दा चार दिनको कामलाई ४० दिन लगाउँथे । त्यसपछि बल्ल गीत रेकर्डिङ तथा मिक्सिङ सकेर तयारीका साथ नेपाल फर्कन्थे ।

यो काम नेपालबाटै गर्न थोरै मान्छेहरू मात्र तयार भएर बसेका थिए, धेरै मान्छे चाहन्थे कि त्यो काम नेपालमा नहोस् । त्यसको पछाडि एउटा कारण थियो, –त्यहाँ पनि एक प्रकारको भ्रष्टाचार हुँदो रहेछ ।

‘यो काम नेपालबाटै गर्न थोरै मान्छेहरू मात्र तयार भएर बसेका थिए, धेरै मान्छे चाहन्थे कि त्यो काम नेपालमा नहोस् । त्यसको पछाडि एउटा कारण थियो, –त्यहाँ पनि एक प्रकारको भ्रष्टाचार हुँदो रहेछ ।’ शाहले भने ‘जब मैले शाही नेपाल चलचित्र संस्थानमै गीत रेकर्ड गर्ने निधो सहित रेकर्डिङ स्टुडियो निर्माणको तयारी गरेँ । ती कर्मचारीहरूले मलाई हदै असहयोग गरेर स्टुडियो निर्माणको काममा निकै दुःख दिए तर मैले स्टुडियो बनाउने काम रोकिनँ ।’

स्टुडियो बनेपछि त्यतिबेला संस्थानद्वारा निर्माणको तयारी भइरहेको चलचित्र ‘बदलिँदो आकाश’को गीत यही स्टुडियोमा रेकर्ड गर्न सो चलचित्रका संगीतकार गोपाल योञ्जन र निर्देशक लक्ष्मीनाथ शर्मा सहमत भए । त्यसपछि स्टुडियो निर्माणको काम अघि बढ्यो । त्यतिबेला स्टुडियो निर्माणमा साउन्ड इन्जिनियर प्रदीप उपाध्याय, तपनाथ सुक्लाले शाहलाई सघाएका थिए । स्टुडियो तयार भएपछि फिल्मको गीत गाउन शाही नेपाल चलचित्र संस्थानबाट उनले नारायण गोपाल, तारा देवी, तारा थापा र गोपाल योञ्जनलाई प्रस्ताव गरे । ‘गाउनका लागि मेल भ्वाइस तर्फ नारायण गोपालले एकै पटकमा स्विकार्नु भयो । दुई जना तारा नाम गरेका व्यक्ति (तारा देवी र तरा थापा) हरूलाई दुई वटा भिन्न भिन्न गीतका लागि हामीले प्रस्ताव राख्यौँ ।’ शाहले भने ।

धेरै फकाएपछि नारायण गोपाल अर्को पटक स्टुडियो त आउनु भयो । तर गोपाल योञ्जनको अनुहार नै नहेरी वहाँले अर्को तर्फ फर्केर गीत गाउनु भयो ।

त्यतिबेला नारायण गोपाल र गोपाल योञ्जनबीच बोलचाल नभएका कारण उनीलाई सँगै काम गराउनु शाहका लागि सहज थिएन । रिहर्सलको बेलामा पनि दुई जना विपरीत ध्रुव तिर फर्किएर गाउने, बजाउने गर्दथे । ‘अब एउटा दिन आयो जुन दिन हामी नेपाली सिनेमाका लागि गीत नेपालभित्र नै रेकर्डिङ गर्ने दिनको प्रतीक्षामा थियौँ, स्टुडियोमा गीत रेकर्डको लागि गोपाल योञ्जनले हार्मोनियम बजाइरहेको बेला नारायण गोपाल आउनु भयो । आफ्नो मितको अनुहार देखेर मुड अफ भयो म गाउँदिन भनेर नारायण गोपाल स्टुडियोबाट फर्कनु भयो ।’ ती दिन सम्झँदै नीर शाहले भने, ‘धेरै फकाएपछि नारायण गोपाल अर्को पटक स्टुडियो त आउनु भयो । तर गोपाल योञ्जनको अनुहार नै नहेरी वहाँले अर्को तर्फ फर्केर गीत गाउनु भयो ।’ यसरी निकै कठिनाइका साथ पहिलो पटक नेपालमा चलचित्रको गीत रेकर्ड गरेको अनुभव नीर शाहले सुनाए ।

‘रेकर्डिङ गर्ने बेलामा तारा थापा समयमा नै आए पनि तारा देवी बिरामी हुनु भयो । वहाँले त्यो गीत गाउन सक्नु भएन । वहाँको भागमा परेका गीतहरू पनि हामीले तारा थापालाई नै उपलब्ध गरायौँ ।’ यद्यपि तारा देवीको बिमार बारे शाह अनविज्ञ भएको बताए ।

इन्डियाबाट टिम फर्केर आयौँ । आएपछि प्रज्ञाप्रतिष्ठानका तत्कालीन सदस्य सचिवले मलाई नराम्रोसँग हकार्नु भयो, –तारा निर शाहको फोर्स लाएर बस्ने ? भनेर रिसाएर गाली गर्नुभयो ।

‘त्यो गीत रेकर्ड गर्दा मेरो झन्डै जागिर गएको थियो ।’ तारा थापाले सुनाइन् ‘एक दिन गीत रेकर्ड गरियो तर त्यो गीत गोपाल दाइलाई चित्त बुझेन, अनि दाइले –तारा भोलि एक पटक फेरी गरौँ भन्नु भयो । भोलि मेरो प्रज्ञा प्रतिष्ठानबाट सबै जना इन्डिया टुर जानु थियो । दाइले गीत रेकर्ड त गर्नै पर्छ भन्नु भयो, भोलि पल्ट गीत असाध्यै राम्रो भयो । म प्लेन मार्फत इन्डिया गएँ ।’ उनी भावुक सुनिइन्, ‘इन्डियाबाट टिम फर्केर आयौँ । आएपछि प्रज्ञाप्रतिष्ठानका तत्कालीन सदस्य सचिवले मलाई नराम्रोसँग हकार्नु भयो, –तारा निर शाहको फोर्स लाएर बस्ने ? भनेर रिसाएर गाली गर्नुभयो ।’

तारा थापाले पैँतिस सय रुपैयाँमा त्यो गीत गाइदिनु भएको कारणले गर्दा खेरी आजको नायकले एउटा फिल्म खेले बापट म ५० लाख लिन्छु भन्ने दिन आएको हो ।

तारा थापाले जोखिम मोलेरै नारायण गोपाल र गोपाल योञ्जनसँग गीत गाएकै कारण नेपालमै नेपाली चलचित्रको गीत रेकर्ड गर्न आफूहरू सफल भएको नीर शाहले बताए । ‘यो गीत गाए बापट तारा थापालाई हामीले ३ हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिएका थियौँ । तारा थापाले पैँतिस सय रुपैयाँमा त्यो गीत गाइदिनु भएको कारणले गर्दा खेरी आजको नायकले एउटा फिल्म खेले बापट म ५० लाख लिन्छु भन्ने दिन आएको हो ।’ उनले थपे ‘यस कारण राष्ट्रिय चलचित्र उद्योगको एउटा गहिरो र लामा इतिहासमा एउटा अविस्मरणीय सुनौलो दिनका रूपमा मैले तारा थापाले गीत गाउनु भएको त्यो दिनलाई सम्झिने गरेको छु ।’

यसरी भयावह परिस्थितिको बाबजुद २०३९ सालमा चलचित्र बदलिँदो आकाशका आधा दर्जन गीतहरू बालाजुको शाही नेपाल चलचित्र संस्थानकै स्टुडियोमा रेकर्ड गरेपछि सोही स्टुडियो अन्य नेपाली चलचित्रका गीतहरू पनि नियमित रूपमा रेकर्ड गर्न थालियो । आफूले चलचित्र प्रेम पिण्डको गीत समेत सोही स्टुडियोमा रेकर्ड गरेको पनि नीर शाहले बताए । यसपछिबाट नेपाली चलचित्रको गीत रेकर्ड गर्न मुम्बई जाने क्रम कम हुँदै गएको र २०६० को दशकबाट सबै गीत यही रेकर्ड गर्न थालिएको अनुभव उनले सुनाए ।

यो पनि…
सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)
नेपाली फिल्म : अस्तित्व जोगाउनै मुस्किल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested