English

नेपाली फिल्मको रिलिज क्यालेन्डरमा



कोरोना भाइरसद्वारा सिर्जित तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज डेटहरू भटाभट घोषणा भइरहेका छन् । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएसँगै विदेशी ठूला ब्यानरका फिल्महरूले घोषणा गरेको डेट हटाएर नेपाली फिल्मको डेट घोषणा गर्न सकस देखिएको छ ।

हलिउड, भारतीय फिल्मसँग नपर्ने गरी फिल्म रिलिज घोषणा गर्नुपर्ने बाध्यताकै कारण केही फिल्महरू एउटै डेटमा समेत घोषणा भएका छन् । हलिउडका प्रतीक्षित फिल्महरू, बलिउडका ठूला फिल्मसँगै दक्षिण भारतीय फिल्महरूलाई पनि मध्यनजर गर्दै फिल्मको रिलिज डेट सेट गरिएका छन् । यसैले गर्दा आउँदो वर्षको भदौमा भने एक आपसमा फिल्महरू भिड्ने छन् । नेपाली फिल्मका निर्माता, निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ ।

हेल्लो जिन्दगी

१८ चैतबाट प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ मा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सनबिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै संवादमा रहेको छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन छ ।

ए मेरो हजुर ४

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ आगामी १ वैशाखमा प्रदर्शनमा आउदै छ । अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित फिल्ममा प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर २ र ए मेरो हजुर ३ लाई दर्शकले रुचाइसकेका छन् । यसैले गर्दा पनि यसको चौथो सिरिज दर्शकमाझ प्रतीक्षामा छ ।

मन्त्र

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउने भएको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्ममा सौगातकी जोडी छिन् दीया पुन । खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्ममा सौगात र दीयासँगै बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायतका कलाकारको अभिनय छ । कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

लक्का जवान

हाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ को रिलिज डेट २३ वैशाखमा घोषणा गरिएको छ । यद्यपि फिल्मसँग जोडिएका कुनै पनि प्रचारप्रसार सामग्री बाहिर ल्याइएको छैन । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरूको कथा भन्छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा छन् ।

ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दिपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने छ ।

षट्कोण

साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ २३ वैशाखबाट प्रदर्शनमा आउनेछ । पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरिएको हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मिलन डी काप्री हुन् । फिल्मको डेटसँगै मुख्य अभिनेता कार्मको लुक्ससमेत सार्वजनिक गरिएको छ । यसमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।

कबड्डी ४ः द फाइनल म्याच

‘कबड्डी ४ः द फाइनल म्याच’ १३ जेठमा रिलिज घोषणा गरिएको छ । निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै नयाँ डेटबारे केही दिन अगाडि जानकारी दिएका थिए । नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

कौसीद

अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले २७ जेठमा प्रदर्शन मिति घोषणा गरेको छ । वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको जनाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सहनिर्मातामा लक्ष्मण बानियाँ छन् । फिल्मको कथा लेखन नवविजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

कृष्ण–लीला

प्रेमकथामा आधारित फिल्म ‘कृष्ण–लीला’ ३ भदौमा प्रदर्शनमा आउने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण–लीला’ लाई कृष्णअष्टमीकै दिन रिलिज गर्न लागिएको हो ।

दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीद्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईलगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

प्रेमगञ्ज

‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत ३ भदौमा प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

पानीफोटो

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ १० भदौमा प्रदर्शन हँुदैछ । स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् ।

एक दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरूपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजश्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय छ ।

प्रकाश

अभिनेता प्रदीप खड्का भिन्न रूपमा प्रस्तुत फिल्म ‘प्रकाश’ आगामी १० भदौमा प्रदर्शनको मिति घोषणा गरिएको छ । चकलेटी ब्वाईको रूपमा प्रस्तुत हँुदै आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन् । प्रदीप यसप्रकारको गेटअपमा पहिलोपटक देखिएका हुन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ । फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय छ ।

द सिक्रेट अफ राधा

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन आगामी २४ भदौमा हुने जानकारी निर्माण पक्षले गराएको छ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् ।

फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महाप्रोडक्सनको ब्यानरमा संयुक्त रूपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।

बाबरी

आउँदो वर्ष ३१ भदौमा ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । फिल्ममा अदितीले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सहनिर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौंसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।

लाखे

फिल्म ‘लाखे’ ३१ भदौमा रिलिज हुने भएको छ । फिल्म टिमले वितरकमा आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठ तय गरेपछि रिलिजको घोषणा गरेको हो । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु रानालगायतको अभिनय छ ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् ।

झिँगेदाउ

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ आउँदो वर्ष ३१ भदौमा प्रदर्शन हुने भएको छ । फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मालगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपनगढी सिनेमा प्रा।लिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायाँकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत छ भने पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘बुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवरबाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

२ नम्बरी

फिल्म ‘२ नम्बरी’ ले आउँदो वर्षको ४ कात्तिकमा रिलिज घोषणा गरेको छ । फिल्म युनिटले दयाहाङ राई, उगेन छोदेन, सौगात मल्ल, उपासनासिंह ठकुरीलगायतको लाइन–अप सेट गरेपछि रिलिज हुने घोषणा गरेको हो । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनांगे र अमलादेवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

परस्त्री

नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रूपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन् । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म आउँदो वर्ष ६ कात्तिकमा रिलिज गरिने पनि बताइएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो पनि…
१० अभिनेत्री कसको फेसन डिजाइनर को ?
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested