English

लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप ! होरी/होेली लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी/होेली गीत (फागु गीत) कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्फू, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निराश देखिएका छन् ।

भक्ति, ठट्टा, परम्परा र उल्लासको सङ्गम हुन्छ फागु गीतमा । ‘शिव मठपर राम खेलैय होरी…हो…शिवमठपर..!’ (भगवान् शिवको मठमा राम होरी खेल्छन्) बोलमा ‘होरैया’ ले डम्फू, मृदङ्ग र झ्यालीको तालमा गाएका गीत सुनिएपछि बाटो हिँड्ने बटुवा पनि टक्क अडेर त्यसको भावमा डुब्ने गरेका मिथिला संस्कृतिको विगत छ ।

‘हो…किनकाके हात कनक पिचकारी…किनकाके हात अबिर झोरी…!’ (कसको हातमा सुनौला पिचकारी छन्) ‘होरैया’ भित्रकै एकपक्षको प्रश्नात्मक गीतको लयमा जवाफ फर्काउँदै अर्कोपक्षले ‘रामजीके हात कनक पिचकारी, सियाजीक हातमे अबिर झोरी…हो, खैलेय होरी..!’ (रामजीका हातमा सुनौलो पिचकारी र सीताजीका हातमा अबिरको झोली छ, उनीहरू होरी खेल्दैछन्) को लय गाँस्ने फागुगीत सुन्न छाडिएपछि पाका मैथिलमा निराशा बढेको हो ।

तिथिले फागुन शुक्लपक्ष सुरु भएपछि ‘होरी’ (फागु) पर्वको रौनक छाउने मिथिलाको पुरानो परम्परा हो । अझ श्रीपञ्चमीकै दिनदेखि मिथिलाका बस्तीबस्तीमा प्रत्येक रात झ्याली, मृदङ्ग र डम्फूको तालमा गुञ्जने ‘होरी’ गीतले प्रत्येकको मन रोमाञ्चित गराउने परम्परा अब विगत बनेको छ ।

श्रीपञ्चमीसँगै प्रत्येक बस्तीमा फागु गाउने ‘होरैया’ (फागु गीत गाउने) समूह देखिन छाडेका छन् । ‘होरी पर्व फागुन पूर्णिमाका दिन मनाइने बुझाइ छ तर त्यो होइन, त्यो त समापन हो’, फागुबारे स्पष्ट पार्दै बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले भने, ‘फागु त श्रीपञ्चमीसँगै सुरु हुन्छ ।’

श्रीपञ्चमी सम्पन्न भएसँगै सुरु हुने ‘होरैया’ को फागुगीतले फागुपर्व लागेको सङ्केत दिने र मिथिलामा घरमा आउने अतिथिलाई रङ अबिरले स्वागत गर्नेक्रम सुरु हुने पुरानो परम्परा रहेको उनले सम्झे । ‘सम्धी/सम्धिनी, सोल्टा/सोल्टी र भिनाजु/सालासालीबीच श्रीपञ्चमीदेखि फागुन पूर्णिमाबीचको भेटमा रङको खेल चल्ने परम्परा नै हो’, उनले भने, ‘एकअर्कालाई लुकेर रङ छ्याप्नु र सम्बन्धबीचको ठट्टा परिहास स्थापित मैथिल संस्कृति नै हो ।’

‘कोन तालमें डम्फू बाजे, कोन ताल मृदङ्ग ! कोन ताल गोरिया नाचे, कोन तालमें हम ?’ (डम्फू कुन तालमा र मृदङ्ग कुन तालमा बज्छ ? अनि गोरी कुन ताल र म कुन तालमा नाच्ने ?) । डम्फू र मृदङ्गले चुनौती दिइरहेको हुन्छ र ‘होरैया’ को गीत भावले पनि ।

न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप ! होरी/होेली लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी/होेली गीत (फागु गीत) कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्फू, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निराश देखिएका छन् ।

मन फुकाएर सामाजिकरूपमा ठट्टा गर्न मिल्ने स्वीकृति पाएका सम्बन्धबीच होरी गीतमा हुने यो ठट्टाभाव अन्य बेला सोच्न नसकिने पाका मैथिल बताउँछन् । वसन्त बिरुवाले पुराना पात झारेर नयाँ पालुवा फेर्ने मौसम हो र श्रीपञ्चमीदेखि यो ऋतु सुरु हुने मैथिल जनविश्वास छ ।

यस मौसममा प्रणय सम्बन्ध पनि गाढा हुने मैथिल साहित्यानुरागी र सौन्दर्यशास्त्री बताउँछन् । फागु गीतमा वसन्त उत्सव र प्रणय अपिल सबै भाव व्यक्त हुने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायले बताए ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म प्रत्येक रात हासपरिहास र भरपुर व्यङ्गोक्ति भावका फागु गीतले दिने रोमाञ्चकता सम्झेर ५० वर्ष उमेर कटेका मैथिल अहिले थकथकिन्छन् । ‘खै के समय आयो, साँस्कृतिक पर्व परम्पराका रीतिथिति हराउँदैछन्’, भङ्गाहा–५ सीतापुरका ६५ वर्षीय राजेन्द्र मण्डलले भने, ‘फागुगीतका सट्टा अचेल चर्को आवाजका डिजे बाजामा डिस्को नाच पो देखिन्छ ।’

पछिल्लो युवा पुस्ताले संस्कृति परम्पराका कुरामा ध्यान नदिएपछि पुराना लोकचलन हराउँदै गएका पूर्ववडाध्यक्ष मण्डलको गुनासो छ । मिथिलामा फागुमा गाइने गीतमा ईश्वरप्रतिको भक्ति, स्थानीय चलन, सामाजिक र पारिवारिक सम्बन्धभित्रका हास्यपरक व्यङ्ग, युवायुवतीबीचको एकअर्काप्रतिको आकर्षण, शाब्दिक छेडखानी र संस्कृतिसँग सम्बन्धित भाव भेटिन्छन् ।

गीतकै माध्यमबाट रामसीताले वनविहार गर्दै रङ्ग छ्याछ्याप गरेका कथानक बुनिएका भावमात्र हैन, गीतमा नवयौवनालाई रङ खेल्न आउने चुनौतीपूर्ण निम्ता पनि हुन्छ । गीतमा हुने भरपूर मनोरञ्जनले नवयौवना ‘होरैया’ का अगाडि पर्न नसके पनि छिंडीमा लुकेर खिलखिलाउन भने छोड्दैनन् ।

फागु गीतमा रङ्ग, अबिरको महत्ता बाहिरी आङमा रङ देखिनुसम्म मात्र नभएर मन रङ्गिनुसँग हुन्छ । प्रशन्नता, उल्लास फागु गीतका अवयब नै हुन् । फागु गीतमा किशोरावस्था पार गरेसँगै युवापुस्तामा हुने/आउने प्रणय सम्बन्धको कल्पना, रुप यौवनको वर्णन र एकअर्कामा समाहित हुन गरिने अपिलका भाव हुन्छन् ।

 ‘खै के समय आयो, साँस्कृतिक पर्व परम्पराका रीतिथिति हराउँदैछन्’, भङ्गाहा–५ सीतापुरका ६५ वर्षीय राजेन्द्र मण्डलले भने, ‘फागुगीतका सट्टा अचेल चर्को आवाजका डिजे बाजामा डिस्को नाच पो देखिन्छ ।’

गीतमै नवयौवनाको मनोदशा वर्णनका रोमाञ्चक भाव समेटिएका हुन्छन् । अनुराग, प्रेम र समर्पणको भाव फागु गीतमा अलि बढी नै उच्छालिएका हुन्छन् । मैथिल संस्कृतिमा अन्यबेला छिल्लिएको अर्थमा बुझिने प्रस्तुति पनि ‘होरी’ मा स्वीकार्य हुन्छ ।

‘होरी मनका बन्धन फुकाएर रमाइने पर्व हो, त्यसैले होरी गीतमा शृङ्गार रसको प्रधानता हुन्छ’, मिथिला क्षेत्रका साहित्यकार महोत्तरीकै जलेश्वर नगरपालिका बखरी बस्तीका बासिन्दा महेश्वर रायले भने । पूर्वप्रशासक ८० वर्षीय राय विश्वमै स्थान बनाएको मिथिला सभ्यता र संस्कृति पछिल्ला दिनमा ओझलिदै गएकोप्रति चिन्ता व्यक्त गर्छन् ।

मिथिलामा ‘होरी’ रङ, अबिर र उल्लासको पर्व हो । श्रीपञ्चमीपछि सम्धीसम्धिनी भेटेर फर्केका मैथिलको रङ्गिन धोती नै सो कुराको साक्षी हुन्छ । धोतीमा रातो रङको छिर्का देखिनासाथ सम्धीसम्धिनी, सालासाली र सोल्टासोल्टी भेट भएका सहजै अनुमान लगाइन्छ ।

‘ए तपाई त सम्धीघर जानुभएको थियो ?’ सेतो धोतीमा रातो रङको छिर्का देखेपछि अर्का मैथिलले सिधै जिज्ञासा यसरी मेट्छन् । तर पर्वमा यो मनोरञ्जन र आत्मीय छेडखानी अब देख्न छाडिएको बलवा नगरपालिका भगवतीपुरका ७० वर्षीय उत्तिम माझी मुसहरले बताए ।

‘होरी’ मात्र नभएर मिथिलाका अन्य चाडपर्वका अवसर पनि फिका पर्न थालेका पाका मैथिलको बुझाइ छ । स्थानीय संस्कृति परम्पराका अभ्यास पातलिँदै गएपछि अब आफ्नो भन्ने मौलिक कुरा हराउँदै गएको पाका मैथिलको चिन्ता छ ।

यो पनि…
बाल्यकालमा कस्तो थियो बुद्धको स्वभाव ?

द्रौपदीको प्रेरणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested