English

कमेडी च्याम्पियन सिजन-२

कमेडीमा नयाँ पुस्ता



स्ट्याण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’बाट चर्चामा छन्– भरतमणी पौडेल । गएको हप्ता उनले पत्रकारको कमेडी गरे । त्यो उत्कृष्ट प्रस्तुतिले उनी टप ८ मा सुरक्षित भइसकेका छन् । यद्यपि च्याम्पियनमा हाल टप ९ प्रतिष्पर्धी छन् ।

पौडेलले च्याम्पियनमा बेरोजगारी, घरबेटी, धनी मान्छे र पत्रकारका विषयमा कमेडी गरिसकेका छन् । जसमध्ये ३ वटामा त उनी ‘पर्फमर अफ द राउण्ड’ नै बने । तैपनि उनी अझै आफ्नो प्रस्तुतिबाट भने सन्तुष्ट छैनन् । ‘राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि केही न केही बिग्रिरहेको हुन्छ,’ २६ वर्षीय पौडेल भन्छन्, ‘त्यसलाई सुधार्ने प्रयास त गरिरहेको छु तर, के नपुगे के नपुगेजस्तो भइरहेको छ ।’

ताप्लेजुङमा जन्मिएका पौडेल विद्यालय तहदेखि नै कमेडीमा रूची राख्थे । २०६७ मा एसएलसी उत्तिर्ण गरेर काठमाडौं छिरेका उनले भद्रगोल, गोलमाल लगायतका हास्य टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

च्याम्पियनको टप ९ मध्येकी अर्की प्रतिष्पर्धी हुन्– श्रेया सुवेदी । उनलाई कमेडीमा रूची जागेको गत वर्षको लकडाउनदेखि हो ।

स्कूल पढ्दा साथीहरुसँग ख्याल ठट्टा र रमाइलो कुरा गर्थिन् । तर, कमेडियन नै बन्ने उनको लक्ष्य भने थिएन । लकडाउनमा घरमा बस्दा उनले थुप्रै कमेडी भिडियोहरु हेरिन् । त्यसमध्ये पनि स्ट्याण्डअप कमेडीले उनको ध्यान खिच्यो । तिनै भिडियो हेरेर कमेडीका विषयवस्तु कस्ता हुन्छन् र मान्छेलाई कसरी हसाउन सकिन्छ भन्ने कुराको ज्ञान भएको उनी बताउँछिन् । ‘भिडियो हेर्दा केही आधारभूत कुरा त सिकिँदो रहेछ,’ सुवेदी भन्छिन्, ‘तर, धेरै समय र दुःख पनि गर्नुपर्ने रहेछ ।’

त्यसो त उनले लकडाउनमै आफ्नै यूट्युब च्यानल खोलिन् । आफैँ स्क्रिप्ट लेखेर सर्ट मुभी बनाएर युट्युवमा राख्न थालिन् । यहिक्रममा उनले कमेडी च्याम्यिनको डिजिटल अडिसन खुलेको थाहा पाइन् । जसमा उनी छनोट भइन् । सुरुमा प्रस्तुति दिँदा निकै डर लागेको उनी सुनाउँछिन् ।‘स्टेजमा स्ट्यान्डअप कमेडी गरेको थिइनँ त्यसैले सुरुसुरुमा डर लागेको थियो,’ उनी भन्छिन्, ‘अहिले त डर पचाइसकेँ ।’

अर्का प्रतिष्पर्धी कञ्चनपुरका हिक्मत महराले पनि यसैबाट स्ट्याण्डअप कमेडी सुरु गरेका हुन् । उनले पहिलो सिजनको सबै एपिसोड हेरे । त्यहीँबाट उनलाई पनि च्याम्पियनमा भाग लिने हुटहुटी चल्यो । दुर्गम ठाउँमा जन्मिएको पीडा सुनाउँदै उनी भन्छन्, ‘सिक्न, हेर्न केही पाएको थिइनँ, दुर्गम ठाउँ, चाहेर पनि सबै नसकिने र नहुने रहेछ, तैपनि पहिलो सिजन हेरेपनि यहाँ भाग नलिइ बस्नै सकिनँ ।’
हास्य कलाकार मनोज गजुरेल र केदार घिमिरे (माग्ने बुढा) लाई उनी आइडल मान्छन् । उनीहरुकै कमेडीले आफू प्रभावित भएको उनी बताउँछन् ।

भारतस्थित सिक्किमका बिके अग्रवालले स्ट्याण्डअप कमेडी गर्न थालेको ५ वर्ष भइसकेको छ । ‘हसाइस कटेलो’ खोलेर कमेडी यात्रा सुरु गरेका उनी यतिबेला कमेडी च्याम्पियनको टप ९ भित्र छन् । नेपाली कमेडीयन सन्दिप क्षेत्री उनलाई निकै मनपर्छ । ‘सन्दिप दाईको ठाडो भाषा, हामी सिक्किमेलीसँग अलिअलि मिल्छ,’ उनी भन्छन्, ‘त्यसैले मेरो आइडल उहाँ नै हो ।’

उनलाई च्याम्पियनमा आउँदा पनि यही ठाडो भाषाको चिन्ता थियो । ‘आफ्नो ठाडो भाषा छ न अरुले मन नपराइदिने पो हो कि भन्ने डर लागेको थियो,’ अग्रवाल भन्छन्, ‘अहिले सबैले सहयोग गरेकोले अपेक्षा गरेभन्दा धेरै साथ पाएको छु ।’

अर्का प्रतिष्पर्धी पवन भट्टराई पनि भारतको आसाममा बस्दै आएका छन् । १६–१७ वर्षको उमेरबाट कमेडी यात्रा सुरु गरेका उनको यसमै करिअर बनाउने लक्ष्य छ । जसलाई कमेडी च्याम्पियनले थप बल पु-याउने उनी बताउँछन् ।

विद्यालयमा अध्ययन गर्दादेखि नै उनको बोली र लवज सुन्दा साथीहरु हास्थे । साथीहरुको हौसला र प्रेरणाले कमेडी तर्फ रुची बढेको उनी सुनाउँछन् ।

स्याङ्जाका विकास अर्याल कक्षा ९ मा पढ्दादेखि नै विद्यालयका विभिन्न कार्यक्रममा हसाउँथे । उनको कमेडीले त्यतिबेलादेखि नै तारिफ पाउँथ्यो । त्यहीँबाट कमेडीमै जीवन देखेको उनी बताउँछन् ।

एसएलसी दिएपछि उनी पोखरा गए । पोखरामा रहेको ‘द कमेडी क्लव’बाट स्ट्याण्डअप कमेडी सुरु गरे । हाल कमेडी च्याम्यिनको टप ९ प्रतिष्पर्धीरहेका उनी अहिलेसम्म आफ्नो प्रस्तुतिबाट सन्तुष्ट छन् । ‘अहिलेसम्म त ठीकै गरेको छु जस्तो लाग्छ,’ उनी भन्छन्, ‘अझै राम्रो गर्ने प्रयास त गरिरहेकै छु ।’

कमेडी च्याम्पियनका अर्का प्रतिष्पर्धी हुन्– सन्तोष थापा । गोरखाका थापा पनि विद्यालय तहदेखि नै कमेडी गर्थे । टेलिभिजनमा आउने विभिन्न हास्य टेलिश्रृंखलाका पात्रहरुको क्यारिकेचर गरेर अरुलाई हसाउँथे ।

राम्रो छ यसैमा करिअर बना भनेर धेरैले हौसला दिएको उनी सम्झन्छन् । ‘मेरो कमेडी देखेर सबैले हौसला दिनुहुन्थ्यो,’ उनी भन्छन्, ‘त्यही हौसला र प्रेरणाले नै च्याम्पियनको मैदानमा आउने हिम्मत गरेँ ।’

सोलुखुम्बुका कैलाश कार्की यतिबेला च्याम्पियनको प्रतिष्पर्धामा छन् । महजोडी, मेरी बास्सै हेरेर कमेडीमा रुची बढेको उनी सुनाउँछन् ।

यद्यपि, च्याम्पियनमा आइसकेपछि भने धेरै कुरा सिकेको उनको अनुभव छ । ‘रुची रहेको पेसामा प्रतिस्पर्धा गर्न पाउँदा निकै खुशी लागेको छ,’ उनी भन्छन्, ‘मैले यसैमा भविष्य देखेको छु तर, मैले धेरै सुधार्नु छ ।’

कमेडीका अर्का प्रतिष्पर्धी हुन्– सुशान्त बस्याल । नवलपरासीका बस्याल कक्षा ८ र ९ मा पढ्दादेखि नै कमेडी गर्थे । त्यहीँबाट कमेडी यात्रा सुरु गरेको उनी सुनाउँछन् ।

इण्डियन कमेडी उनलाई निकै मनपर्छ । साथै, नेपाली हास्य कलाकार विशाल गौतमको कमेडी पनि निकै राम्रो लाग्ने उनी बताउँछन् । ‘भारतीय कमेडीबाट धेरै सिक्ने मौका पाएँ,’ उनले भने, ‘अहिले च्याम्पियनमा आइसकेपछि पनि राम्रो प्रतिक्रिया पाइरहेको छु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested