English

ह्यारीको सहयोग विद्यालयलाई अभिसाप : उनी फर्किएनन्, अरूले हातै हालेनन्



२०७२ सालको महाविनाशकारी भूकम्पको केन्द्र गोरखा थिलथिलो भयो । विद्यालय र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरूसमेत खण्डहर बने । भूकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय विद्यालयनै खुलेनन् ।

बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रुविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था)ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो गर्‍यो ।

भूकम्प गएको केही समयमै विद्यालय बन्ने भएपछि गाउँलेहरू खुसी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै । गाउँलेहरूले ठाने उनीहरू पनि स्वंसेवक होलान् । सँगसँगै माटो बोके, गारो लगाए ।

केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालीन राजकुमार गोरखाको विकट गाउँमा विद्यालय बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार रहेछन् ।

‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गुरुङ भन्छन्, ‘चिनजान नहुँदा त को गोरा आएर काम गरिरहेको छ भनेर वास्तै गरिएन । थाहा भएपछि आफैंलाई कस्तो कस्तो लाग्यो ।’

सुरुमा आउँदा ह्यारीबारे कसैलाई थाहा थिएन । पहिले पनि कहिलेकाहीँ पर्यटकहरू आएर काम गरिरहन्थे । कसैलाई चासै भएन । ‘हामीलाई पनि जानकारी थिएन । मिडियामा समाचार आएपछि त हामी छक्क पर्‍यौं,’ सोही विद्यालयमा पढाउने शिक्षक श्यामबहादुर नेपालीले भने, ‘मान्छेले नचिन्दासम्म फोटो खिच्ने र सँगै खाने गर्थे । पछि फोटो खिच्न पनि दिएनन् । फोटो खिचे कानुनी कारबाही गर्छु भने ।’

बेलायती तत्कालीन राजकुमार ह्यारी

ह्यारीले एक साताभन्दा बढी लापूबेँशीमा बिताए । सुटुक्क त्यहाँ पुगेर आफैं श्रमदान गरेका उनले विद्यालय बनाउन लाग्ने सबै खर्च आफू र टीम रुविकन नामक संस्थामार्फत जुटाइदिए । ३५ लाख लागतमा त्यहाँ १२ कोठे अस्थायी भवन बन्यो ।

तत्कालको आवश्यकता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म विद्यालय सम्झिएनन् । ‘यहाँबाट गएपछि कोही आएका छैनन् । टीम रुविकनकै दुई जना आए, उद्घाटनको बेलामा । ह्यारीले चाहीँ कन्ट्याक्ट गरेका छैनन्,’ नेपालीले भने, ‘विद्यालय जीर्ण भयो । नयाँ बनाउन सकिएको छैन । सहयोग माग्न जाँदा कसैले वास्ता गर्दैनन् ।’

तत्कालको आवश्यकता पूरा गर्न बनेको भवन अहिले जीर्ण भइसकेको छ । भवन बनाएर फर्किएका ह्यारीले अहिलेसम्म विद्यालय सम्झिएनन् । भवन मात्रै होइन शिक्षाको अवस्थासमेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन ।

बेलायती तत्कालीन राजकुमारले बनाइदिएको भनेर कसैले पनि विद्यालय स्तरोन्नतीमा हात हाल्न मानेका छैनन् । विद्यालयका शिक्षक शिवराज खनाल ह्यारीकै कारण सहयोगी नपाएको हुनसक्ने अनुमान गर्छन् ।

‘कसैसँग सहयोग माग्दा ह्यारीले बनाइदिएको विद्यालयमा सहयोग गर्नुपर्छ र ? भन्छन् । हामीले त्यहाँ किन हात हाल्ने भनेर ठाडो शब्द बोल्छन्,’ उनले भने, ‘भूकम्प जाँदा सुरुमा त राम्रो भयो । अहिले अन्त राम्रो भवन बन्यो । हाम्रो विद्यालय जीर्ण छ ।’

भवन मात्रै होइन, त्यहाँको शिक्षाको अवस्था समेत नाजुक छ । शिक्षकको तलब जुटाउन अप्ठ्यारो भएको छ भने विद्यार्थीलाई आकर्षण गर्नेगरी पढाई हुन सकेको छैन । ‘छिमेकका सबै विद्यालय भवन भव्य बनेका छन् । सिंहदरबार जस्ता भवन छन्,’ उनी भन्छन्, ‘यो विद्यालयमा ठूलो पानी पर्‍यो भने भित्रै चुहिन थाल्छ । घाम चर्कियो भने पसिनाले पढाउन सकिँदैन ।’

लापुगाउँमा शिक्षा कार्यालयबाट दुई कोठे र एनजिओले भव्य विद्यालय बनाइदियो । गंगाजमुना आधारभुत विद्यालय भिरकुनामा शिक्षा कार्यालयले नै पक्की भवन बनाईदिएको छ । छिमेकका सबै विद्यालयको भव्य भवन हुँदा लापुबेँशीका विद्यार्थी र शिक्षक भने हेरेरै चित्त बुझाउन बाध्य छन् ।

विद्यालयमा १५ जना शिक्षक छन् । अधिकांश शिक्षकलाई गाउँलेले मासिक चन्दा उठाएर पाल्छन् । ह्यारी बेलायत गएपछि राजसंस्थाबाट अलग हुने निर्णयले त्यहाँका स्थानीय र शिक्षकहरू झनै निराश भए । गाउँलेले आफ्नो गाउँको सम्झना गराईराख्न डाँडै उपहार दिए । तर ह्यारीले गाउँ सम्झिएनन् ।

उनको नाममा स्थानीय डम्फूडाँडालाई ह्यारी हिल नामाकरण गरिएको छ । ह्यारीले सहयोग थप्नु त परको कुरा उनकै कारण संघ संस्था र सरकारबाट आउने अनुदान र पाउने सहयोग पनि पाउन छोडे । विद्यालयका शिक्षक पाल्न प्रत्येक घरले एक सय ५० रुपैयाँ मासिक उठाउँछन् ।

‘मावि सन्चालन गर्ने बेलामै मासिक सहयोग गर्ने भनेर स्थानीयले बचन दिए । पहिले ५ सय उठाईन्थ्यो, अहिले डेढ सय मात्रै उठाउछौं,’ लेखापाल विनिता गुरुङ भन्छिन्, ‘बोलेको पैसा खुरुखुरु तिर्नुहुन्छ ।’ विद्यालय चलाउने अरू श्रोत नभएको उनले बताइन् । अघिल्लो वर्षदेखि गाउँपालिकाले ३ वटा शिक्षकको कोटामा अनुदान दिएको छ ।

यो पनि…
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]
शिक्षक परीक्षा जारी रहँदा शिक्षामन्त्रीले दिए यस्तो निर्देशन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested