हाम्रो बारेमा

कुनै पनि देशको समृद्धिको मापन त्यहाँका नागरिकको जीवनशैली अर्थात लाइफस्टाइलले निर्धारण गर्छ । पत्रकारिताको विश्वव्यापी प्रवृत्तिलाई अध्ययन गर्ने हो भने, ‘लाइफस्टाइल जर्नलिज्म’ समाजको अत्यन्तै महत्वपूर्ण पाटो बनिसकेको छ ।

मानिसका प्रत्येक पल लाइफस्टाइलसँगै जोडिएका हुन्छन् । मानिसको ब्यक्तित्व, सोच्ने शैली, अरुलाई गर्ने ब्यवहारजस्ता कुराहरु उसको जीवनशैलीबाट प्रभावित हुने कुरा हो । तर हामी कहाँ लाइफस्टाइल जर्नलिज्मलाई अझै ‘वास्तविक पत्रकारिता’ का रुपमा स्विकार्न सकिएको छैन् । स्विकारे पनि ‘हलुका पत्रकारिता’को दृष्टिले मात्र हेर्ने सनातनी प्रवृत्ति छ ।

अबको मुलधार पत्रकारिता जेलिएको राजनीतिमा मात्र केन्द्रित हुने होइन, विकास र सम्भावनाको खोजीमा पनि आफूलाई समर्पित गर्नुपर्छ भन्ने हाम्रो मुल मर्म हो । एउटा उन्नत समाजको स्थापनापछि जनताको लाइफस्टाइलको कोणबाट पनि राजनीति र अर्थतन्त्रलाई हेरिनेछ । त्यसबेला लाइफस्टाइल नै ‘मूलधार’ बन्नेछ भन्ने हाम्रो विश्वास हो ।

राइज मिडियाद्वारा प्रकाशित मेरो लाइफस्टाइल डटक (merolifestyle.com) मानिसलाई परिवार, समाज र मुलुकप्रति जिम्मेवार बन्दै सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्वेश्यले डिजिटल प्लेटफर्म मार्फत यहाँहरु समक्ष आएको छ ।

सन् २०२६ अर्थात आगामी पाँच बर्षपछि नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी) ले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको हो । यसका लागि राष्ट्रसंघले पाँच वर्षको समय–सीमा दिएको छ । यो अवधिमा मुलुकले तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

मुलुकले फड्को मार्न ‘होस्टे’ गर्ने यो अवधिमा ‘हैँसे’ थप्नु हाम्रो पनि दायित्व हो । मेरो लाइफस्टाइल डटकमले यो दायित्व पूरा गराउन जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्नेछ । नागरिकको जीवनशैली सुधारको वकालत गर्दै गर्दा यससँग सम्बन्धित अधिकारका आधारभूत पक्ष तथा अवरोधका विरुद्ध खबरदारी गर्ने पत्रकारिताको आधारभूत मान्यताबाट समेत हामी किञ्चित विचलित हुने छैनौँ ।

हाम्रो यही विश्वासलाई मूर्तरूप दिन तपाईंले पाठक र दर्शकका साथै आलोचक,समीक्षक र विज्ञापनदाता वा अन्य उपयुक्त भूमिका समेत निर्वाह गरिदिनु भयो भने हामी सँग–सँगै गन्तब्यमा पुग्न सक्नेछौं । यहाँहरुबाट प्राप्त हुने सल्लाह सुझाव हाम्रा लागि अमुल्य मार्ग निर्देशन हुनेछ ।


तुलसी कुमार गुरुङ
अध्यक्ष, राइज मिडिया नेटवर्क