English

हाम्रो बारेमा

राइज मिडिया नेटवर्कद्धारा सञ्चालित मेरोलाइफस्टाइल डटकम (www.merolifestyle.com) नेपाली भाषाको समाचार पोर्टल हो । मानिसलाई परिवार, समाज र मुलुकप्रति जिम्मेवार बन्दै सचेत भएर जीवन गुजार्न प्रेरित गर्ने उद्देश्यले मेरोलाइफस्टाइल डटकम डिजिटल प्लेटफर्ममार्फत यहाँहरू समक्ष आएको हो । आमजनता र राष्ट्रको जीवनमा सुख, शान्ति र समृद्धिको त्रिवेणी निरन्तर बग्नुपर्छ । यही नै हामीले सुनिश्चित गरेको आदर्श र मार्गचित्र हो । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताको हामी सधैँ नै पक्षपाती रहने छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भावप्रति हामी संवेदनशील छौं ।

कुनै पनि देशको समृद्धिको मापन त्यहाँका नागरिकको जीवनशैली अर्थात लाइफस्टाइलले निर्धारण गर्छ । पत्रकारिताको विश्वव्यापी प्रवृत्तिलाई अध्ययन गर्ने हो भने, ‘लाइफस्टाइल जर्नलिज्म’ समाजको अत्यन्तै महत्वपूर्ण पाटो बनिसकेको छ । तर, हामीकहाँ यसलाई अझै पनि ‘वास्तविक पत्रकारिता’ को रूपमा स्विकार्न सकिएको छैन । स्विकारे पनि ‘हलुका पत्रकारिता’ को दृष्टिले मात्र हेर्ने सनातनी प्रवृत्ति छ । अबको मूलधार पत्रकारिता जेलिएको राजनीतिमा मात्र केन्द्रित हुने होइन, विकास र सम्भावनाको खोजीमा पनि आफूलाई समर्पित गर्नुपर्छ भन्ने हाम्रो मूल मर्म हो । एउटा उन्नत समाजको स्थापनापछि जनताको लाइफस्टाइलको कोणबाट पनि राजनीति र अर्थतन्त्रलाई हेरिनेछ । त्यसबेला लाइफस्टाइल नै ‘मूलधार’ बन्ने हाम्रो विश्वास हो ।

नागरिकको जीवनशैली सुधारको वकालत गर्दै गर्दा यससँग सम्बन्धित अधिकारका आधारभूत पक्ष तथा अवरोधविरुद्ध खबरदारी गर्ने पत्रकारिताको मुलभूत मान्यताबाट हामी किञ्चित विचलित हुने छैनौँ । हाम्रो यही विश्वासलाई मूर्तरूप दिन तपाईंले पाठक र दर्शकका साथै आलोचक, समीक्षक र विज्ञापनदाता वा अन्य उपयुक्त भूमिकासमेत निर्वाह गरिदिनुभयो भने हामी सँग–सँगै गन्तव्यमा पुग्न सक्नेछौं । यहाँहरूबाट प्राप्त हुने सल्लाह–सुझाव हाम्रा लागि अमूल्य मार्गनिर्देशन हुनेछ ।

विश्वको जुनसुकै ठाउँबाट www.merolifestyle.com सीधै लगइन गरेर वा ट्विटर, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो यस डिजिटल घरमा संसारभरि छरिएर रहनुभएका सबैलाई स्वागत छ ।


तुलसी कुमार गुरुङ
अध्यक्ष, राइज मिडिया नेटवर्क

www.risemedia.com.np