English

डल्फिन : संरक्षणमा जुट्दै सारथी



भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा निस्किन्थे । मोहना नदीमा देखिने डल्फिनलाई हानी पुर्याउनुमा आफ्नो बहादुरी ठान्थे । तर कैलालीमा आएका विदेशी पर्यटकले जब डल्फिनलाई प्रेम गर्नुपर्छ भनेर अर्ति दिए, त्यसपछि उनको जीवन चर्या नै परिवर्तन भयो । गाउँमा गुलेली लिएर शिकार गर्न हिँड्नेहरूलाई सम्झाइ–बुझाई गुलेली जफत गरे । त्यसपछि त उनी सम्भारकर्ताबाट संरक्षणकर्ता भए ।

गुलेली बाजे भनेर चिनिए पनि खासमा उनको नाम भोजराज श्रेष्ठ रहेछ । उनको प्रसङ्ग यहाँ किन उठ्यो ? यसको कारण छ । जलीय जीव डल्फिनको संरक्षणमा देखिएको उनको हुटहुटी नै चिनारी हो । झण्डै ४० वर्षदेखि श्रेष्ठले डल्फिन जोगाउन गरेको प्रयास ‘सलाम’ लायक छ ।

कर्णाली नदीदेखि यसका शाखा नदी मोहना, कान्द्रा तथा पथरैयाका दोभानमा हरेक बर्खाका बेला डल्फिन विचरण गरेको देखेका श्रेष्ठले यी नदीहरूमा आश्रय लिइरहेका डल्फिनलाई ‘पिता’ सरह संरक्षण गरिरहे ।

तर प्रारम्भिक दिनहरू उचित सहज थिएनन् । ‘सुरु–सुरुमा त डलर कमाउनको लागि भन्ने आरोप समेत खेप्नुपरेको थियो,’ उनले ती तीता दिनहरू सम्झिए ।

स्थलगत प्राणीमा मान्छेको सबैभन्दा नजिकको मित्र कुकुर हो भने जलीय प्राणीमा डल्फिन हो । कर्णाली नदीमा यो बाह्रै महिना देखिन्छ ।

विजयराज श्रेष्ठ
सचिव, डल्फिन संरक्षण केन्द्र

प्रकृतिकै लागि डल्फिन जोगाउनै पर्ने कारण के हो ? उनीसँग यसको तर्कपूर्ण जवाफ थियो । यसैले उनले समुदाय स्तरमै पुगेर यसका लागि चेतना अभिवृद्धि थाले, जसलाई नयाँ पिँढीले समेत निरन्तरता दिइरहेका छन् ।

डल्फिन : विश्वमै दुर्लभ अनि लोपोन्मुख पनि

जलीय प्राणीको सबभन्दा माथिल्लो खाद्य श्रृंखलामा पर्ने डल्फिन समुन्द्रमा मात्र होइन, नदीको स्वच्छ जल क्षेत्रमा पनि पाइन्छ । डल्फिन दुई प्रकारको हुन्छ, नुनिलो पानीमा पाइने समुन्द्री डल्फिन र स्वच्छ जल क्षेत्रमा पाइने डल्फिन । जसलाई फ्रेस वाटर डल्फिन पनि भनिन्छ । यो विश्वको दुर्लभ जलचर प्राणी हो । नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई स्तनधारी प्राणीको अनुसूची १ मा संरक्षित वन्यजन्तुको रूपमा सूचिकृत गरेको छ । अन्तर्राष्ट्रिय वन्यजन्तु कानूनले पनि यसलाई संरक्षण सूचीमा राखेको छ ।

स्वच्छ जल क्षेत्रमा चार प्रजातिका डल्फिन पाइन्छन् । यी प्रजातिहरू मध्ये गंगा नदी प्रणालीअन्तर्गतका विभिन्न नदीमध्ये नेपाल भएर बग्ने कोशी, नारायणी तथा कर्णालीमा करिब एक सय डल्फिन रहेको अनुमान छ । डब्लूडब्लूएफ नेपाल अन्तर्गत स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँदका अनुसार नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले २०१६ मा गरेको सर्वेक्षणको तथ्याङ्क अनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन भेटिएको छ । जस मध्ये ९ कोशी र ४३ डल्फिन कर्णालीमा भेटिएको थियो । त्यसपछि सरकारको तर्फबाट आधिकारिक सर्वेक्षण भएको छैन ।

डल्फिन स्वस्थ नदीको सूचक हो, यो फोहोर र कम पानी भएको स्थानमा बस्दैन । डल्फिन पाइने नदी स्वतः स्वस्थ हुन्छ, हामीसँग स्वस्थ नदी रहन्छ, डल्फिनलाई जोगायौँ भने स्वच्छ पानीमा बस्ने हजारौँ जीवजन्तुलाई बचाउन सकिन्छ ।

राजेश साँद
प्रमुख, स्वच्छ जल कार्यक्रम

गण्डकी नदीमा नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिएका बाँधका कारणले नेपालका डल्फिन भारतीय क्षेत्रमा पसेपछि पुनः नेपाल फर्किन सक्ने संरचना नहुँदा ती नदी प्रणालीमा धेरै वर्षदेखि डल्फिन देखिन छाडेका छन् । यद्यपि गण्डकी नदीमा अघिल्लो र यस वर्ष डल्फिन देखिएको साँद बताउँछन् । उता, कर्णाली नदीको शाखा नदी मोहना, कान्द्रा तथा पथरैया नदीको दोभानमा हरेक बर्खाका बेला डल्फिन विचरण गरेको सजिलै देख्न सकिन्छ ।

विश्वमै दुर्लभ अनि लोपोन्मुख डल्फिन कैलालीको मोहना नदीमा भने हालसम्म पनि अस्तित्वमा रहेका छन् । साउन, भदौमा डल्फिनले बच्चा जन्माउने र हुर्काउने मौसम हो । भारतका घाँघरा र नेपालका कर्णालीमा बर्खाका बेला बाढी तथा भेल आउने हुँदा शान्त वातावरण खोज्न त्यहाँ बस्ने डल्फिन मोहना तथा आसपासका सहायक नदीमा आउने गर्छन् । स–साना नदी भएकाले पानीको बहावले अशान्त नहुने र आहार पनि पाइने हुनाले बर्खाका तीन महिना डल्फिन यही नदीमा विचरण गरिरहेको सजिलैसँग देख्न सकिने डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठ बताउँछन् । ‘कर्णाली नदीको शाखा नदी मोहना, कान्द्रा तथा पथरैया नदीको दोभान र खोलाहरूमा हरेक बर्खाका बेला मनसुन सुरु भएपछि डल्फिन विचरण गरेका सजिलैसँग देख्न सकिन्छ,’ सचिव श्रेष्ठले सुनाए, ‘स्थलगत प्राणीमा मान्छेको सबैभन्दा नजिकको मित्र कुकुर हो भने जलीय प्राणीमा डल्फिन हो । कर्णाली नदीमा यो बाह्रै महिना देखिन्छ ।’

भोजराज ढुङ्गाना
अध्यक्ष, डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल

वर्षा याममा डल्फिन जति–जति माथि जान्छन् त्यही आधारमा खोला बढ्ने र बाढी आउँछ भन्ने सूचकको रूपमा मानिन्छ । यदि डल्फिन–तल झर्न थाले भने अब पानी घट्छ, बर्खा सकिएछ भन्ने थाहा हुन्छ ।

यसकारण डल्फिन जोगाउन आवश्यक

समुदाय स्तरमा डल्फिनलाई पानीको सूचकको रूपमा पनि लिइन्छ । स्थानीयले डल्फिनकै आधारमा बर्खा लागेको र सकिएको थाहा पाउने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउँछन् । ‘वर्षा याममा डल्फिन जति–जति माथि जान्छन् त्यही आधारमा खोला बढ्ने र बाढी आउँछ भन्ने सूचकको रूपमा मानिन्छ । यदि डल्फिन–तल झर्न थाले भने अब पानी घट्छ, बर्खा सकिएछ भन्ने थाहा हुन्छ,’ ढुङ्गानाले जानकारी साझा गरे ।

बाघलाई स्वस्थ जंगलको सूचक माने झैँ डल्फिनलाई स्वस्थ नदीको सूचक मानिने साँद बताउँछन् । ‘डल्फिन स्वस्थ नदीको सूचक हो, यो फोहोर र कम पानी भएको स्थानमा बस्दैन । डल्फिन पाइने नदी स्वतः स्वस्थ हुन्छ, हामीसँग स्वस्थ नदी रहन्छ,’ उनले रोचक जानकारी दिए, ‘डल्फिनलाई जोगायौँ भने स्वच्छ पानीमा बस्ने हजारौँ जीवजन्तुलाई बचाउन सकिन्छ ।’

डल्फिन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक र खोज अनुसन्धान गर्न विद्यार्थी आउने हुँदा स्थानीय स्तरमा विकास निर्माण तथा विभिन्न रोजगारीको अवसर सिर्जना भएको संरक्षण केन्द्रका सचिव श्रेष्ठको अनुभव छ । ‘जीवन परिवर्तन र विकासको अनुभूति भएको छ । गाउँ ठाउँको प्रचार प्रसार पनि भएको छ,’ उनी उत्साहित सुनिन्छन् ‘पहिले बोल्न नसक्ने दिदी बहिनीहरू पनि बोल्न सक्ने भएका छन् । मसानघाट, जहाँ मान्छे जान डराउँथे त्यस्तो ठाउँमा अहिले पर्यटकहरू आउन थालेका छन् ।’ डल्फिन संरक्षणले स्थानीयको जीवन परिवर्तन र राष्ट्रिय स्तरमा पनि पर्यटन व्यवसाय फस्टाउनेमा उनी विश्वस्त देखिन्छन् ।

तर संरक्षणमा सकस

डल्फिन र यसको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको श्रेष्ठ बताउँछन् । ‘चीन जस्तो विकसित देशबाट पनि यो लोप भइसकेको छ । अहिलेको जलवायु परिवर्तन, बढ्दो मानवीय चाप र औद्योगीकरणले पर्यावरणमा नकारात्मक असर पर्दा यसको संख्यामा ह्रास आइरहेको छ ।’ प्राकृतिक वासस्थान अनुकूल नहुनु, खोलामा रासायनिक विषादी प्रयोग गरेर माछा मार्नु, नदीमा वर्षा कम भएर पानीको सतह पातलिनु, माछा लगायतका आहारा प्रजाति घट्नु आदी डल्फिनको लागि जोखिम भएको उनको बुझाइ छ ।

मुख्यतः डल्फिन एक ठाउँदेखि अर्को ठाउँ सरिरहने प्राणी हो । यसको लागि १० देखि १५ फिट गहिराइ भएको पानी आवश्यक पर्छ । पछिल्लो समय नदीमा भइरहेको अवैध उत्खनन तथा विभिन्न संरचनाहरूका कारण पानीको सतह पातलिनु, पानीको दिशा परिवर्तन हुनु र बाँध निर्माण गर्दा डल्फिन आवतजावतमा समस्या हुनुले यसको संरक्षणमा झन् सकस भइरहेको साँदले बुझेका छन् । जथाभाबी माछा मारेर डल्फिनको आहारा घट्नु, नदी प्रदूषण, मान्छेमा चेतनाको अभावको कारणले पनि डल्फिन लोप हुने खतरा रहेकोतर्फ साँद संकेत गर्छन् । ‘माछा मार्न नदीमा विषादीको प्रयोग गर्ने तथा खेतबारीमा हालेको विभिन्न रासायनिक मलहरू पानीले बगाएर नदीमा नै ल्याउने भएकाले नदी प्रदूषण हुन्छ,’ साँदको चिन्ता छ,‘मान्छेमा चेतनाको स्तर पनि कम छ, डल्फिनलाई माछा भनेर मार्ने पनि गर्छन् । अर्को कुरा संरक्षण क्षेत्रभन्दा बाहिर पाइने डल्फिनको लागि संरक्षणको अभाव छ ।’

संरक्षण कालागि अथक प्रयास

कैलालीमा डल्फिन संरक्षणलाई चासो र प्राथमिकता दिएको पाइन्छ । भजनी, कैलालीका भोजराज श्रेष्ठको स्मृतिमा डल्फिन संरक्षण गर्दाका तीता मीठा अनुभव अझै ताजै छ । ‘सुरुमा त सामान्य कुरा देखाएर डलर कमाउनको लागि नचाहिने कुराहरू गरेको छन् भन्ने आरोप पनि लागेको थियो । तर हामी स्थानीय समुदायले गरेको काम २०–२५ वर्षपछि प्रमाणित गर्न सकियो,’ श्रेष्ठ सन्तुष्ट सुनिए ।

‘पछिल्लो समय डब्लूडब्लूएफ नेपालले संरक्षणको केही आसा लाग्दो प्रयासहरू सुरु गरेको छ । डब्लूडब्लूएफले पनि चासो देखाएको हुनाले हामी उत्साहित भएका छौँ,’ उनी आशावादी देखिए, ‘यति बेला डल्फिन आफ्नो अस्तित्वको लागि अन्तिम लडाइँ गरिरहेको छ । यसको संरक्षणमा ढिलाइ गर्नु हुँदैन ।’

त्यसो त डब्लूडब्लूएफ नेपालले आफ्नो नयाँ रणनीतिक योजनामा डल्फिनलाई प्राथमिकतामा राखेको साँद सुनाउँछन् । ‘तत्काल डल्फिनको वैज्ञानिक अध्ययन नभएको भएर हामीले नेपालमै पहिलो पटक उसलाई नछोई टाढाबाट नै उसको मोमेन्टलाई ट्रयाक गर्ने इक्पोर्ट नामक ९ वटा मेसिन ल्याएका छौँ ।’ साँद भन्छन्, ‘उनीहरूको साउन्डको आधारमा त्यो मेसिनले ५०० मिटर देखि १ किलो मिटरसम्म डल्फिन भए नभएको र उनीहरू गएको दिशा क्याप्चर गर्न सक्छ । उक्त मेसिन चलाउन तालिम पनि दिएका छौँ ।’

डल्फिनको आहारा प्रजातिको अभाव नहोस् भनेर अवैध माछा मार्न कम गर्नको लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन उकास्नको निम्ति काम गर्नुका साथै नदी संरक्षणको दृष्टिले स्थानीय सरकारसँग सहकार्य गरेर नदी उत्खनन कार्यलाई दिगो विकासको आधारमा व्यवस्थित गर्ने डब्लूडब्लूएफको आगामी योजना रहेको साँदले सुनाए ।

नवराज पुडासैनी
उप–महानिर्देशक, वन तथा भू–संरक्षण विभाग

खासगरि बर्दियाको कर्णाली र मोहोना नदीसँग त्यहाँको डिभिजन वन कार्यालय र निकुञ्ज विभागसँग समन्वय गरेर त्यहाँको समुदाय स्तरमा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू नेपाल सरकारले गरेको छ ।

त्यसो त आईयूसीएनको संकटापन्न सूचीमा राखेको यो जीव नेपालका लागि भने सरकारले अति संकटापन्न जीवनको सूचीमा यसलाई राखेको छ । डल्फिन संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डल्फिन कन्जर्भेसन एक्सन प्लान २०२१–२०२५’ ल्याएको छ । जस अन्तर्गत समुदायसँग समन्वयन गरेर संरक्षणका कार्यक्रमहरू गर्दै आएको वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक नवराज पुडासैनी बताउँछन् । ‘खासगरि बर्दियाको कर्णाली र मोहोना नदीसँग त्यहाँको डिभिजन वन कार्यालय र निकुञ्ज विभागसँग समन्वय गरेर त्यहाँको समुदाय स्तरमा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू नेपाल सरकारले गरेको छ ।’ उनी भन्छन् ‘कार्ययोजना अन्तर्गत निरिक्षण र वासस्थान व्यवस्थापन जस्ता प्रमुख कार्यको कार्यान्वयन भएको छ ।

नेपाल सरकारको डल्फिन संरक्षणमा कम प्राथमिकता रहेको र कम बजेट विनियोजन गर्ने कुरामा पुडासैनी खल्लो सुनिन्छन् । ‘कार्ययोजना कार्यान्वयनको सन्दर्भमा कानुनतः गर्नुपर्ने कामहरू गरेका छौँ, यद्यपि कार्ययोजना हु–बहु लागु भएको छ भन्ने अवस्था भने छैन ।’ डल्फिन संरक्षणमा नेपाल सरकारको भावी योजना के–के छन् ? भन्ने प्रश्नमा उनको जवाफ ‘समुदायको सक्रियतामा डल्फिन पाइने क्षेत्रलाई ‘डल्फिन संरक्षण क्षेत्र’ भनेर छिट्टै नै घोषणा गर्दैछौं । प्रदूषणको मात्रा र डल्फिनलाई सुहाउँदो पानी छ कि छैन भनेर पानीको गुणस्तर परीक्षण गर्छौं ।’ उनी थप्छन् ‘नदी सरसफाइका अभियान–खास गरी नदीमा रासायनिक पदार्थ प्रयोग गर्ने कुरालाई निरुत्साहित गर्ने गरी हाम्रा कार्यक्रमहरू केन्द्रित हुन्छन् ।’

डल्फिन जलचर तथा जैविक विकास संरक्षण नेपालले पनि डल्फिन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । समुदाय स्तरमा डल्फिनलाई मार्नु हुँदैन, नदीमा प्लास्टिकजन्य फोहोर तथा मृत जनावरहरू फाल्नु हुँदैन, यसलाई जोगाउनुपर्छ भन्ने चेतना आइसकेको ढुंगाना बताउँछन् । ‘समुदाय स्तरमा बाल क्लब, युवा क्लब महिला सञ्जालहरू गठन भएका छन्, तिनीहरू पनि डल्फिन संरक्षणमा सक्रिय भएर लागिरहेका छन्,’ ढुंगाना मख्ख देखिए ।
डल्फिनका लागि किन यत्ति मरिहत्ते ?
यसको जवाफ छ । किनकि डल्फिन जोगिए प्रकृति जोगिन्छ, प्रकृति जोगिए हामी जोगिन्छौं ।

राईज मिडिया नेटवर्कको विशेष सहयोगमा ।
तस्बिर : राईज मिडिया नेटवर्क, करुन देवान र दीपक राजवंशी

भिडियो :

यो पनि…
बाघ संरक्षणमा नेपालको छलाङ
सिमसारले फेर्छ जीवनकै काँचुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,