English

यस्तो छ महाशिवरात्रिको आध्यात्मिक महत्त्व



किंवदन्ती त छँदै छ तर योग परम्परामा यो दिन र रातलाई त्यस हदसम्म महत्त्व दिनुको कारण के हो भने, यसले आध्यात्मिक साधकको निम्ति जे-जति सम्भावनाहरू प्रदान गर्दछ, ती अतुलनीय र अद्‌भुत छन् ।

आधुनिक विज्ञानले थुप्रै चरणहरू पार गरेको छ अनि आज यो बिन्दुमा आइपुगेको छ जहाँ यसले तपाईंलाई यो प्रमाणित गर्न थालिरहेको छ कि सबैथोक- जसलाई तपाईंले जीवनको रूपमा जान्नुभएको छ, जसलाई पदार्थ र अस्तित्वको रूपमा जान्नुभएको छ, जसलाई ब्रम्हाण्ड र आकाशगङ्गाको रूपमा जान्नुहुन्छ- त्यो त्यही ऊर्जा हो, जसले आफूलाई लाखौँ-करोडौँ रूपहरूमा प्रकट गरिरहेको छ ।

यो वैज्ञानिक तथ्य प्रत्येक योगीका निम्ति अनुभवको स्तरमा यथार्थ हो । “योगी” अर्थात् जसमा अस्तित्वको एकत्व बोध भएको छ । जब म “योग” भन्छु, म कुनै निश्चित अभ्यास वा प्रणालीको कुरा गरिरहेको छैन । अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गर्दछ ।

महिनाको चौधौँ रात-औँसीभन्दा एकदिन अगाडिको रात-महिनाभरिको सबैभन्दा अँध्यारो रात हुन्छ । जब हामी “शिव” भन्छौँ, त्यसको एउटा पक्ष यो हो कि हामी आदियोगी अर्थात् पहिलो योगीको बारेमा कुरा गरिरहेका छाैँ । अर्को पक्ष के हो भने “शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छ”, अस्तित्व वा सृष्टि हो । “त्यो जुन छैन”, शिव हुन् ।

आज आधुनिक विज्ञानले हामीलाई यो भनिरहेको छ कि पूरै सृष्टि शून्यताबाट आएको हो र पुनः शून्यतामै फर्किनेछ । सबैथोक शून्यताबाट आउँछ अनि पुनः शून्यतामै फर्किन्छ । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । “त्यो जुन छ” को आधार भनेकै “त्यो जुन छैन” हो ।

शिवरात्रि, महिनाको सबैभन्दा अन्धकार रात हो । प्रत्येक महिना शिवरात्रि मनाउँदा तथा महाशिवरात्रिको उत्सव मनाउँदा यस्तो लाग्न सक्दछ कि हामी अन्धकारको उत्सव मनाइरहेका छौँ । तार्किक दिमाग अन्धकारबाट टाढै रहन चाहन्छ, अनि स्वाभाविक रूपमा प्रकाश वा उज्यालो रोज्दछ ।

तर शिवको शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छैन” भनेको के हो भने, जब तपाईं आँखा खोलेर वरपर हेर्नुहुन्छ, यदि तपाईं स-साना चिजहरू खोजिरहनु भएको छ भने तपाईंले निकै धेरै सृजनाहरू देख्न सक्नुहुन्छ, तर यदि तपाईंको दृष्टिले साँच्चिकै विशाल चिजहरू खोजिरहेको छ भने, तपाईंले यो महसुस गर्नुहुनेछ कि यस अस्तित्वमा भएको सबैभन्दा ठूलो उपस्थिति वास्तवमा विशाल शून्यता हो । 

 केही बिन्दुहरू- जसलाई हामी आकाशङ्गा भन्छौँ- ती साधारणतया देखिन्छन् । तर ती सबैलाई थामेर राख्ने विशाल शून्यतामा सबैको ध्यान जाँदैन । यही विशालता, यही अनन्त खालीपनलाई नै शिव भनिन्छ । यतिखेर, आधुनिक विज्ञानले समेत यो प्रमाणित गरेको छ कि सबैथोक शून्यताबाट आउँछन् अनि फेरि शून्यतामै विलिन हुन्छन् । यही सन्दर्भमा, शिव अर्थात् त्यो विशाल रिक्तता वा शून्यतालाई नै महान् देव, महादेव भनिएको हो ।

यस धरतीको हरेक धर्म र संस्कृतिमा, सदैव चैतन्यको सर्वव्यापी प्रकृतिको कुरा गरिएको छ । यदि हामीले यसमा ध्यान दिने हो भने, यो पाउने छौँ कि अन्धकार, शून्यता वा खालीपन मात्र त्यस्तो छ, जुन साँच्चिकै सर्वत्र-व्याप्त छ, जुन जताततै उपस्थित छ ।

सामान्यतया, जब मानिसहरू सुख-समृद्धि खोजिरहेका हुन्छन्, हामी चैतन्यलाई प्रकाशको रूपमा दर्शाउँछौँ । जब मानिसहरू सुख-समृद्धि खोजमा लाग्दैनन्, वा त्यसबाट माथि उठेर आफ्नो जीवनबाट पर जाने, विलिन हुने कुरामा ध्यान दिइरहेका हुन्छन्- यदि उनीहरूको उपासना र साधनाको उद्देश्य विलिन हुनु हो भने— त्यसबेला हामी सदैव चैतन्यलाई अन्धकारको रूपमा हेर्दछाैँ । सद्गुरु प्रवचन

यो पनि
शिवलिङ्गमा चिसो वस्तु किन चढाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,